कांग्रेसका सांसद एवम् पूर्वमन्त्रीलाई कोरोना, घरकै आइसोलेशनमा राखियो

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

काठमाडौं आउनका लागि कांग्रेसका ती सांसदले आइतबार नमूना दिएर कोरोनाको परीक्षण गराएका थिए ।

ती सांसदको सोमबार आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली प्रदेश संसद सचिवालयका सचिव जीवराम बुढाथोकीले जानकारी दिए ।

कोरोना देखिएका कांग्रेसका प्रदेश सांसद यसअघि संविधान सभामा कर्णालीको एउटा जिल्लाबाट निर्वाचित भएका थिए । त्यस बेला उनी केन्द्रीय सरकारको मन्त्री समेत बनेका थिए ।

कांग्रेसका ती सांसदसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का सांसदले पनि नमूना दिएका थिए । तर, नेकपाका सांसदको रिपोर्ट नेगेटिभ आएको सचिव बुढाथोकीले बताए ।

कोरोना देखिएपछि कांग्रेसका ती सांसद सुर्खेतस्थित आफ्नै निवासमा आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कांग्रेसका सांसदलाई कोरोना देखिएपछि कर्णाली प्रदेशका सबै ४० जना सांसदहरूको नमूना संकलन शुरु गरिएको छ ।

Published : Tuesday, 2020 July 14, 3:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया