‘होली वाइन काण्ड’पछि कुर्सी बचाउन ओलीको अर्को फण्डाः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कुटनैतिक मर्यादा विपरितका कार्य र अभिव्यक्तिहरू नदिन चेतावनी दिएका छन् ।

कांग्रेस नेता खतिवडाले मंगलबार प्रेस नोट जारी गरेर प्रधानमन्त्री पदको गरिमालाई नघटाउन ओलीसँग आग्रह गरेका हुन् । ‘ओलीजी हाम्रो प्रधानमन्त्री हो । उहाँले के बोल्दा के हुन्छ ? भनेर विचार गर्नुपर्छ’, उनले भने, ‘पदीय हैसियत र मर्यादाको ख्याल गर्नुपर्छ ।’

झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले सोमबार अयोध्याका विषयमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कांग्रेस नेता खतिवडाले धार्मिक र सांकृतिक विषयमा बोल्न विशेष ध्यान दिनुपर्ने बताए ।

विगतमा प्रधानमन्त्री ओली ‘होली वाइन’ काण्ड गरेको बताएका खतिवडाले भने, ‘होली वाइन काण्ड गर्नेहरूले धार्मिक विषयमा बोल्दा बिचार गर्नुपर्छ । आस्थामा प्रहार गर्नु हुँदैन ।’

खतिवडाले ओलीले आफ्नो फुत्किने तयारीमा रहेको प्रधानमन्त्रीको कुर्सीलाई बचाउन अनेकथरीका फण्डा निकालेको आरोप लगाए । ‘आफ्नै पार्टीका नेताहरूले प्रधानमन्त्री

ओलीको राजीनामा माग गरेपछि अनेक राष्ट्रवादी फण्डा निकाल्नु भएको छ’, उनले भने, ‘यस्ता फण्डाले उहाँलाई क्षणिक फाइदा होला । तर, दीर्घकालमा मुलुकलाई नै बेफाइदा हुन्छ ।’

प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्दा के असर गर्छ भन्ने कुरालाई हेक्का राख्नुपर्ने खतिवडाले बताएका छन् । उनले ओलीका सल्लाहकारहरूले के सल्लाह दिएका हुन् ? भनेर आश्चर्य व्यक्त गरेका छन् ।

Published : Tuesday, 2020 July 14, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया