चाइनिज दूतको गतिविधि बढेका बेला काठमाडौंमा चीन फुटाउने नेताको कार्यक्रम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादलाई मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चलखेल गरिरहेका बेला चीन फुटाउने अभियानका धार्मिक नेता दलाई लामाको जन्मदिन मनाइएको छ ।

काठमाडौंमा बस्दै आएका तिब्बतीहरूले धार्मिक नेता दलाई लामाको ८५औं जन्मदिन सुटुक्क मनाएका हुन् । उनीहरूले कसैलाई जानकारी नै नदिएर दलाई लामाको जन्मदिन मनाएका थिए । चीनपरस्त खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले तिब्बती नागरिकहरूलाई दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको थियो ।

तिब्बती र नेपालीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाई लामाको जन्मोत्सव मनाएका हुन् । कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए ।

लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो । संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए ।

कम्युनिस्ट सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ । सोमबार तिब्बतीहरूले दलाई लामाको जन्मदिन मनाउने थाहा पाएपछि रोक लगाउन काठमाडौंमा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाई लामाको जन्मदिन मनाउने गरेका छन् ।

बौद्धस्थित तिब्बतीको कार्यालय (सेटलमेन्ट अफिस)स्थित कम्युनिटी हलमा उपस्थित तिब्बतीले दलाई लामाको तस्बिरमा पूजा गरी सुस्वास्थ्यको कामना गरेका छन् । उनीहरूले दलाई लामाका नाममा दीप प्रज्वलन गरेका छन् ।

अमेरिकी दूतावासले आफ्नो फेसबुक पेजमार्फत १४औँ दलाई लामालाई ८५औँ जन्मदिनको शुभकामना दिएको छ । तिब्बतीले यसपटक लामाको जन्मदिन मनाउन कुनै तामझाम गरेका थिएनन् ।

गृह मन्त्रालयले गत वर्ष तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको थियो । तिब्बती समुदायले गत वर्ष स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा कार्यक्रम गर्ने तयारी गरेको थियो ।

उनीहरूले २०७५ सालमा जाउलाखेलमा गरेको कार्यक्रममा भने कूटनीतिक समुदायको बाक्लो उपस्थिति थियो । सरकारी सञ्चारमाध्यममा दलाई लामाको समाचारमा प्रतिवन्ध नै लगाएको छ ।

Published : Tuesday, 2020 July 7, 7:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया