अन्तर्राष्ट्रिय वादोकप करातेमा नेपाललाई ९ स्वर्ण

काठमाडाैं । दोस्रो अन्तर्राष्ट्रिय भर्चुअल कराते वादोकप प्रतियोगितामा नेपालले ९ स्वर्ण पदकसहित चौथो स्थान हाँसिल गरेको छ ।

अन्तर्राष्ट्रिय वादोकाइ एकेडेमीले जुन १ देखि १० तारिखसम्म आयोजना गरेको भर्चुअल प्रतिश्पर्धामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारणले भौतिक रुपमा टाढा रहेर पनि प्रबिधिको माध्यमबाट एकताबद्ध हुन र खेलकुदलाई निरन्तरता दिन “We are far but united” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा नेपालले ९ वटा रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो । प्रतियोगिता काता र कुमुते गरी दुई बिधामा प्रतिश्पर्धा भएको थियो ।

सबिना श्रेष्ठले सिनियर, जिया कार्कीले क्याडेट र वर्षा बुढामगरले जुनियर तर्फ दोहोरो स्वर्ण पदक हासिल गरेका छन् ।

अन्य खेलाडीहरूमा मौसम बुढामगरले क्याडेटको काता, अंकित गुरुङ्गले सिनियरतर्फ कुमुते र साहिल घलेले क्याडेटतर्फ कुमुतेमा स्वर्ण पदक हासिल गरेका छन् ।

रजत पदक हासिल गर्ने खेलाडीहरुमा अनिल उपरकोटीे, प्रजोल गुरुङ्ग, बरुण मगर, सन्तोष श्रेष्ठ, विनिसा राजबाहाक, दीव्या गौतम, शोनी राई रहेका छन् ।

कास्य पदक हासिल गर्ने खेलाडीहरूमा जोन तामाङ्ग, सुलभ राजबाहाक, सुरज राजबाहाक, रोसन तामाङ्ग, सम्प्रदा सापकोटा, राजश्री श्रेष्ठ, शान्ता श्रेष्ठ र ममता मर्हजन रहेका छन् ।

दश दिने प्रतियोगतिामा नेपाल सहित बिभिन्न राष्ट्रहरु ब्राजिल, क्युबा, इटाली, फ्रान्स, मोरोक्को, बोस्निया, इस्कोजिया, अलजेरिया, न्यूजिल्याण्ड र प्यालेस्टाइनका गरी जम्मा ३१० जना खेलाडीहरु प्रतिश्पर्धामा उत्रिएका थिए ।

प्रतियोगितामा ईन्टरनेशनल वादोकाई एकेडेमी नेपालका प्रमुख प्रशिक्षक निरज महर्जन, महासचिब बिकाश राजबाहाक र प्रशिक्षक गोबिन्द श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

Published : Thursday, 2020 June 18, 3:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया