नेपाल भित्रिने चिनियाँ स्याउ ‘ज्यानमारा’

काठमाडौं । नेपालमा वर्षेनी अर्बौं रुपियाँको चिनियाँ स्याउ विषादी परीक्षणविना नै भित्रिने गरेको छ ।

नेपालमा उत्पादित तरकारीमा व्यापक मात्रामा विषादी रहेको भनेर चर्चा चलिरहेका बेलामा चीनबाट आयातित फलफूल भने परीक्षणविना नै बजारमा जाने गरेको पाइएको हो ।

चीनसँगको उत्तरी नाका रसुवागढी तातोपानी नाकाबाट आयात हुने स्याउहरू उपभोक्तासम्म आइपुग्दा कुनै विषादी परीक्षण हुँदैन् ।

बजारमा छ्यासछ्यास्ती पाइने चिनियाँ स्याउ स्वास्थ्यका लागि हानिकारक रहेको गुनासोहरू आउन थालेका छन् ।

बढ्दो माग रहेको चिनियाँ स्याउको विषादी परीक्षण नै नगरी बजारमा भित्रिने गरेको छ । विना परीक्षण खाइने स्याउ स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरू बताउँछन् ।

केन्द्रीय कृषि प्रयोगशालाकाका अनुसार चिनिया स्याउ हालसम्म परीक्षणका लागि प्रयोगशालामा आएको छैन ।

‘हामी बोर्डरमा पुग्दैनौँ । भन्सार विन्दुबाट सम्बन्धित निकायले नपठाएसम्म हामीले परीक्षण गर्न सक्दैनौँ’, प्रोगशालाका एक कर्मचारीले भने, ‘हालसम्म परीक्षण भएको छैन ।’

सरकारले विषादी परीक्षणको जिम्मा कृषि विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालालाई जिम्मा दिएको छ । केन्द्रीय कृषि प्रयोगशाला मातहत परीक्षण गर्ने ७ निकाय छन् ।

लकडाउनका कारण चीनसँगका नाकामध्ये हाल सञ्चालनमा रहेका नाकामध्ये व्यापारीक कारोबारको काम तातोपानी नाकाबाट मात्र हुने गरेको छ । यस आधारले पनि तातोपानी नाकाबाट सामान आइरहेको छ ।

तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र समेत केही साता अघि बुझाएका थिए ।

तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरूको भनाइ छ । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।

सोही क्रममा सरकारले यस नाकामा विषादी परीक्षणको व्यवस्थित ल्याब स्थापना गर्न सकेको छैन ।

चिनियाँ स्याउ निर्यातको प्रमुख देशमध्ये नेपाल पनि एक हो । झट्ट हेर्दा आकर्षक देखिने चिनियाँ स्याउ नेपाली बजारमा बढी मूल्य पनि पर्छ । तथापि उपभोक्ताहरूले किन्ने गरेका छन् ।

यस नाकाबाट भित्रनेमा सब भन्दा बढी चिनियाँ स्याउ रहेको छ भने दोस्रो सबैभन्दा बढी भित्रिनेमा लसुन रहेको छ । केरुङ नाकाबाट तयारी कपडा, विद्युतीय सामाग्री, कस्मेटिक सामानका कन्टेनरहरू पनि नेपाल भित्रिन्छन् ।

काठमाडौंको बजारमा बिक्री हुने अरु सबै स्याउहरूमा विषादी परीक्षण गर्ने गरेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटी फलफूल तथा तरकारी बजार ईकाइले चिनियाँ स्याउको भने परीक्षण गर्ने गरेको छैन ।

आवश्यक परेको खण्डमा बजारमा विक्री भईरहेको फलफूलको समेत नमूना परीक्षण गर्ने गरेको भएपनि अहिलेसम्म चिनियाँ स्याउहरूमा विषादी परीक्षण नभएको ईकाइका प्रमुखको कार्यालयले जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी प्रदीपचन्द्र भट्टराईले कुनैपनि प्रयोगशालाबाट चिनियाँ स्याउहरूको विषादी परीक्षण नहुनेगरेको स्पष्ट पारेका छन् ।

उनका अनुसार रसुवागढी भन्सार कार्यालयमा त परीक्षणको लागि कुनैपनि प्रयोगशाला नै छैन । काठमाडौंमा पनि विषादी परीक्षण हुने गरेको छैन ।

Published : Sunday, 2020 June 7, 3:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया