साफ गेमका स्वर्ण विजेता सुरेन्द्रलालको नेतृत्वमा बन्यो अर्गनाइजेशन

काठमाडौं । विश्वभरि छरिएर बसेका नेपालका करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूले ‘ग्लोबल नेपालिज् अर्गनाइजेशन’ नामक संस्था गठन गरेका छन् ।

संस्थाको अध्यक्षमा आठौँ साफ गेममा स्वर्ण पदक विजेता सुरेन्द्रलाल श्रेष्ठ रहेका छन् । उपाध्यक्षमा जनक राई, रामेश्वर श्रेष्ठ र आर.के. श्रेष्ठ पहरी रहेका छन् ।

कार्यसमितिको महासचिव सरोज भट्टराई रहेका छन् भने सचिव मुकेश बरुवाल तथा कोषाध्यक्षमा सुनिता महर्जन श्रेष्ठ ‘सुष्मा’ रहेकी छिन् ।

सदस्यहरूमा मकेन्द्रबहादुर सिंह, साजन मास्के, कृष्ण गुरुङ, लोकमान सिंह, राजेश श्रेष्ठ, प्रशान्त कर्मा, फुर्वा तामाङ र कृष्ण केसी रहेका छन् ।

समितिको प्रमुख सल्लाहकारमा सितोरियो करातेका जन्मदाता थानेश्वर राई रहेका छन् ।

सल्लाहकारमाहरूमा हेम पुन, आनन्दु लामा, रुपेश डङ्गोल, सुरेश बैद्य, सुधिर नेवाः, लता लिम्बू र शैलेश प्रधान रहेका छन् । साे संस्थाको संथापक पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्य रहेका छन् ।

अर्गनाइजेशनका अध्यक्ष श्रेष्ठ विगतका राम्रा खेलाडी हुन् । सन् १९९९ को दशकमा श्रेष्ठ करातेका सुपर स्टार खेलाडी मानिन्थे ।

श्रेष्ठले सन् १९९९ मा नेपालमा भएको आठौँ गेममा उत्कृष्ट खेल प्रदर्शन गरि स्वर्ण पदक हासिल गरेका थिए ।

सन् २००२ जापानमा भएको विश्व कराते च्याम्पियनसिपमा श्रेष्ठले कास्य पदक हासिल गरेका थिए ।

सन् १९९१ नेपालमा भएको शिखर एसिएन कराते च्याम्पियनसिपमा उनले स्वर्ण पदक हासिल गरेका थिए । उनले विदेशमा पनि थुप्रै मेडल प्राप्त गरिसकेका छन् ।

श्रेष्ठले नेपालमा भएको राष्ट्रिय कराते प्रतियोगितामा सयौँ स्वर्ण पदक हासिल गरिसकेका छन् । श्रेष्ठलाई राजा स्व.वीरेन्द्र शाहले दुई पटक गोर्खा दक्षिण बाहु दिएका थिए ।

अर्गनाइजेशनका अध्यक्ष श्रेष्ठ हाल क्यानडामा रहेका छन् । उनले क्यानडामा २ वटा कराते डोजो सञ्चालन गर्दै आइरहेका छन् ।

कोषाध्यक्ष सुनिता महर्जन श्रेष्ठ ‘सुष्मा’ पनि करातेकी पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् । सुनिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ३ दर्जनभन्दा धेरै स्वर्ण पदक हासिल गरिसकेकी छिन् ।

सुनिताले हाल जापानमा प्रशिक्षण गरिरहेकी छिन् । उक्त संस्थाले विशेष गरि नेपालमा रहेका आर्थिक अवस्था कमजोर रहेका उत्कृष्ट खेलाडीहरूलाई सहयोग गर्दै आएको छ ।

संस्थाले विदेशमा रहेका कराते प्रशिक्षकसँग लेबी उठाउने गरेको कोषाध्यक्ष सुनिताले बताएकी छिन् । अहिले विदेशमा कराते प्रशिक्षकहरू २ सयभन्दा बढी छन् । उनीहरूले कराते खेलको संरक्षणदेखि नेपालमा पनि सहयोग गर्दै आएका छन् ।

Published : Saturday, 2020 June 6, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया