जेलमा रहेका कांग्रेस नेता आलमको घरमा प्रहरी छापा, गोली चल्यो

रौतहट । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको घरमा प्रहरीले छापामारेको छ ।

बिहीबार मध्यराति छापामार्ने क्रममा स्थानीयले अबरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

१२ वर्ष अगाडि रौतहटमा भएको बम विष्फोट तथा सामूहिक हत्याकाण्डमा पुर्पक्षका लागि जेल चलान भएका कांग्रेसका निलम्बित सांसद आलमको घरमा प्रहरीले छापा मारेको छ ।

आलमका भाई महताब आलमलाई खोजिरहेको प्रहरीले बिहीबार मध्यरातमा रौतहटस्थित उनको घरमा छापा मारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठका अनुसार महताब आलम घर आएको सूचना पाएपछि प्रहरी टोली छापा मार्न गएको थियो ।

छापा मार्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको उनले बताए । प्रहरीले उनका भाइलाई भने फेला पार्न सकेन ।

बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाणसमेत नष्ट हुने गरी जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले आफताब आलमविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महताब अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन् । आलम पक्राउ परे पनि अरू सबै फरार छन् ।

Published : Friday, 2020 May 22, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया