रक्षा र गृह मन्त्री तथा आईजीपीसँग खाँणको कुराकानी, कांग्रेसले दियो सरकारलाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चीनबाट कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्री ल्याएकोमा सरकारलाई धन्यावाद दिएका छन् ।

नेपालले चीनबाट आइतबार कोरोना भाइरसको संक्रमणको उपचार र रोकथामका लागि आवश्यक पर्ने सामग्रीहरू ल्याएको छ ।

खाँणले नेपाल सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री माननीय ईश्वर पोखरेललाई धन्यवाद दिएका हुन् ।

प्रमुख सचेतक खाँणले पोखरेललाई टेलिफोन सम्पर्क गरी सरकारले खरिद गरेका उपकरण र स्वास्थ्य सामग्रीको गुणस्तरमा ध्यान दिँदै तत्काल ती सामाग्रीहरू सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला र स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन आग्रह गरेका हुन् ।

प्रमुख सचेतक खाँणले थप उपकरण र स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अघि बढाइ सामग्रीको अभाव हुन नदिन पनि मन्त्री पोखरेललाई सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनको समयमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने प्रक्रिया सहज बनाउन पनि आग्रह गर्दै उनीहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि खाँणले माग गरेका छन् ।

कांग्रेसका प्रमुख सचेतक खाँणले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका आईजीपी ठाकुर ज्ञवालीलाई सुरक्षाको प्रवन्ध चुस्तदुरुस्त बनाएकोमा धन्यवाद दिएका छन् ।

उनले आगामी दिनमा थप सजग भई काम गर्न र समाजिक दुरी कायम गरी सर्वसाधारणलाई औषधि र अत्यावश्यक खाद्य सामग्रीको व्यवस्थापन मिलाउन पनि आग्रह गरेका छन् ।

प्रमुख सचेतक खाँणले सातै प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता र प्रमुख सचेतकलाई पनि टेलिफोन सम्पर्क गरी प्रदेशको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रमुख सचेतक खाँणले दुई दिन अगाडि सरकारलाई ज्ञापन पत्र बुझाएर कोरोनाविरुद्धको अभियानलाई गति दिन आग्रह गर्दै सुरक्षाकर्मीहरूको सुरक्षाका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामग्री ल्याउन आग्रह गरेका थिए ।

Published : Sunday, 2020 March 29, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया