खिजीदेम्बामा अल्ट्रा म्याराथन, सविना र भीमलाई उपाधि

खिजीदेम्बा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा सम्पन्न भएको अल्ट्रा म्याराथनको उपाधि सविना भण्डारी र भीमबहादुर गुरुङले जितेका छन् ।

सोमबार खिजीदेम्बा गाउँपालिकाको खिजीदेखि बुलबुलसम्म अल्ट्रा म्याराथन प्रतियोगिता भएको थियो । ३६ सय मिटर उचाइँमा भएको म्याराथनमा ३५ जना महिला र पुरुष खेलाडीले भाग लिएका थिए ।

अल्ट्रा म्यारथनको महिलातर्फ सविना भण्डारी प्रथम भएकी छिन् । भण्डारीले ७० हजार नगद पुरस्कार जितेकी छिन् ।

हुमी बुढा मगर दोस्रो हुँदै ५५ हजार जितेकी छिन् भने सविना तामाङले तेस्रो स्थान हासिल गरेकी छिन् । तामाङले ४० हजार नगद पुरस्कार जितेकी छिन् ।

पुरुषतर्फ भीमबहादुर गुरुङ प्रथम भएका छन् । गुरुङले ७० हजार नगद पुरस्कार जितेका छन् । गोपाल तामाङले दोस्रो स्थान प्राप्त गर्दै नगद ५५ हजार पुरस्कार पाएका छन् ।
दुर्गा बुढा तेस्रो भएका छन् । बुढाले नगद ४० हजार पुरस्कार जितेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवार, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता बेदबहादुर रोकालगायतको सहभागिता रहेको थियो ।

खिजीदेम्बा गाउँपालिकाको पर्यटन विकासका लागि आयोजना गरिएको अल्ट्रा म्याराथनको आयोजना नेपाल टुरिजम डेभलपमेन्टले गरेको थियो । म्याथनमा खिजीदेम्बा गाउँपालिकाले ठूलो धनराशि पुरस्कारका रुपमा प्रदान गरेको छ ।

अल्ट्रा म्याथन कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार पनि सहभागी थिए ।

Published : Monday, 2020 March 2, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया