गणेशमान सिंह स्मृति बक्सिङ चैतमा हुने

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताका लागि सातै प्रदेशमा छनोट प्रतियोगितासमेत आयोजना गरिने भएको छ । प्रदेश १ को छनोट प्रतियोगिता फागुन १५ देखि १७ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ ।

प्रदेश २ र बागमती प्रदेशको छनोट फागुन २० देखि २२ सम्म काठमाडौंमा, गण्डकी प्रदेशको छनोट फागुन २९ देखि चैत १ गतेसम्म पोखरामा हुनेछ ।

प्रदेश ५ र कर्णाली प्रदेशको छनोट चैत ४ देखि ६ गतेसम्म नेपालगन्ज र सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता चैत ८ देखि १० गतेसम्म धनगढीमा सञ्चालन हुनेछ ।

जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रादेशिक छनोटमा सहभागिता जनाउने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र महिला खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।

Published : Sunday, 2020 February 16, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया