गणेशमान सिंह स्मृति किक बक्सिङको उपाधि एपिएफलाई

ललितपुर । वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले जितेको छ ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा सम्पन्न प्रतियोगितामा एपिएफले ५ स्वर्णसहित टिम च्याम्पियन बनेको प्रतियोगिता आयोजक समितिका संयोजक मीनकृष्ण महर्जनले जानकारी दिए । च्याम्पियन एपिएफले एक लाख रुपियाँ पुरस्कार पाएको छ ।

ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मीले ३ स्वर्ण पदक जितेको छ । आर्मी प्रतियोगितामा दोस्रो हुँदै ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रीता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरेको महर्जनले जानकारी दिए ।

राजेशले ६५ केजी तथा रीताले ५५ केजीमा स्वर्ण जितेका हुन् । स्वर्णवापत दुवैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए ।

भाटभटेनीले अनुशासित टिमको उपाधि जितेको छ । मार्चपासमा एपिएफ उत्कृष्ट बन्यो ।

पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो भए । फाइनलमा उनले एपिएफका सञ्जय राईलाई पराजित गरे ।

आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेस्रो भए ।

पुरुष ५५ केजीमा एपीएफका रोहित चुनारा पहिलो भए । उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराए ।

मुवाँथाईका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेस्रो भएका छन् ।

पुरुष ६० केजीमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जितेका छन् । उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई पाखा लगाए ।

मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेश्रो बनेका छन् ।

पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छाउँदै शीर्ष स्थानमा पुगेका थिए ।

बक्समाण्डुका मनीषकुमार भुजेल र प्रहरीका समन धुस्रीले कास्य जितेका छन् ।

पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनवारले बाजी मारेका छन् । उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारेका थिए । क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेस्रो भएका छन् ।

पुरुष खुला तौलसमूहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बनेका छन् । फाइनलमा कोशिषले एपीएफका भुपेन्द्र शाहको चुनौती समाप्त पारेका थिए ।

क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भएका हुन् ।

महिला ६५ केजीमा एपिएफकी विनिता थापा मगरले फाइनलमा आर्मीकी मञ्जु विकलाई पन्छाउँदै स्वर्ण चुमिन् । एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेस्रो स्थानमा रहेका थिए ।

महिला खुला तौलसमूहमा आर्मीकी विन्दु पुन पहिलो भइन् । फाइनलमा विन्दुले एपिएफकी जयन्ती श्रेष्ठलाई हराइन् ।

मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेस्रो भएका छन् ।

महिला ६० केजीमा एपिएफकी निशा विक पहिलो भइन् । फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन् ।

मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भएका छन् ।

महिला ५० केजीमा एपिएफकी सञ्जु माया थिङले स्वर्ण जितिन् । सञ्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराइन् । आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य जितेका छन् ।

महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपिएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन् ।

आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेस्रो भएका छन् ।

माघको २, ३ र ४ गतेसम्म चलेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८–८ हजार रुपियाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समापन नेता प्रकाशमान सिंहले गरेका थिए ।

Published : Tuesday, 2020 January 21, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया