चापागाउँमा मोडियो देशभरिका खेलाडीहरूकाे ध्यान, किक बक्सिङको भब्य तयारी

ललितपुर । ललितपुर जिल्लाको चापागाउँमा हुने गणेशमान सिंह तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको धमाधम तयारी शुरु भएको छ ।

तयारी समितिका संयोजक मीनकृष्ण महर्जनका अनुसार किक बक्सिङको तयारी स्वरुप गेट बनाउने, मञ्च बनाउने, खेलाडीको तौल परीक्षण लगायतका कामहरू धमाधम भइरहेका छन् । ‘समय अत्यन्तै कम छ’, उनले भने, ‘प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि प्राविधिक तयारीहरू भइरहेका छन् ।’

पुस २८ र २९ गते लगनखेल डोजोमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खेलाडीको तौल परीक्षण हुनेछ ।

नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभागीय टिमसहित देशभरिबाट झण्डै दुई सय खेलाडीले भाग लिने अपेक्षा आयोजकको छ ।

नेपाली कांग्रेसका सर्वमान्य नेता लौह पुरुष वीर गणेशमान सिंहको सम्झनामा माघ २, ३ र ४ गते ललितपुर जिल्लाको गोदावरी नगरपालिकास्थित चापागाउँको प्याङगाउँचौरमा ‘गणेशमान सिंह तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता’ हुँदै छ ।

ललितपुर किक बक्सिङ जिल्ला कार्यसमितिको आयोजनामा तीन वर्षदेखि लगातार यो प्रतियोगिता हुँदै आएको छ ।

विजेता खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार र मेडलको व्यवस्था भएकाले पनि गणेशमान सिंह किक बक्सिङ प्रतियोगितालाई खेलाडीहरूले विशेषमा लिने गरेका छन् ।

प्रतियोगिताको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । समापन र पुरस्कार वितरण भने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको संयोजक महर्जनले जानकारी दिएका छन् ।

ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष विनोद महर्जनले कराते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आई.टी.एफ., फुल कन्ट्याक्ट कराते, मुआय थाईलगायतका खेल समावेश हुनेछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

महिला तौल समूहमा ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नछन् ।

उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ३० हजार, द्वितीय हुने खेलाडीलाई रु. १५ हजार, तृतीय हुने खेलाडीलाई रु. ८–८ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट पुरुष खेलाडीलाई रु. २५ हजार र उत्कृष्ट महिला खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सबैभन्दा बढी स्वर्ण पदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरुप रु. १ लाख नगद, द्वितीय हुने टिमलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था गरिएको प्रतियोगिता आयोजक समितिका संयोजक महर्जनले बताए । उपत्यका बाहिरका खेलाडीहरूलाई खाना र वसोवासको व्यवस्था पनि गरिएको छ ।

Published : Tuesday, 2020 January 7, 8:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया