१३औँ सागमा करोडौँको भ्रष्टाचार, महर्जनद्वारा कारबाहीको माग

काठमाडौं । राष्ट्रिय खेलकुद् परिषद पूर्व कोषाध्यक्ष एवम् पूर्व अन्तर्राष्ट्रिय रेफ्री मीनकृष्ण महर्जनले १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका क्रममा करोडौँ रुपियाँ भ्रष्टाचार र अनियमितता भएको बताएका छन् ।

कराते पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जनले साग गेममा भएको भ्रष्टाचारको छानविन गरेर दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

डिसेम्बर १ देखि १० तारिखसम्म नेपालले साग गेमको आयोजना गरेको थियो । अपर्याप्त भौतिक संरचानामा साग गेम सफल भएको छ । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका खेलकुद मन्त्री र कमर्चारीहरूले लापरबाही गरेपनि खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै उल्लेख्य रुपमा मेडल जितेका थिए ।

महर्जनले प्रतियोगिता सम्पन्न गर्न बनाइएका विभिन्न उपसमितिको नाममा आफ्ना आसेपासे र नेकपाका अरिँगालहरूलाई समितिको संयोजक बनाएर भ्रष्टाचार गरेक आरोप लगाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरूलाई कुनै उपसमितिको जिम्मेवारी नै नदिई राष्ट्रिय खेलकुदबाट अवकाश पाएका व्यक्तिलाई राष्ट्रिय टिम तयारी समितिको संयोजक बनाएको भन्दै आपत्ति जनाए ।

‘प्रतियोगिताको नाममा विदेशमा ८–९ वर्षसम्म लुकिछुपी बसेर पैसा कमाएर आएका व्यक्तिहरुलाई पैसा कुम्याउने समितिमा राखेर भ्रष्टाचार गरेका छन्’, पूर्वकोषाध्यक्ष महर्जनले भनेका छन् ।

‘राज्यले १३औँ साग गेमको लागि ५ अर्ब बजेट दिएको छ । त्यो रकम कुन–कुन शीर्षकमा कति खर्च भएको छ ? स्वयं खेलकुद परिषद् सदस्यहरूलाई नै थाहा छैन’, महर्जनले भनेका छन्, ‘साग गेमका लागि भोलेन्टरको नाममा नेकपाका कार्यकर्ताहरूको नाम राखेर एकदिनको १ हजारको दरले १५ दिनको रकम निकासा गरेर वितरण गर्न लागिएको छ ।’

खेलाडीहरूले पाउनुपर्ने सुविधा नपाएको महर्जनले बताएका छन् । साग गेम खेल्ने खेलाडीहरूलाई ६ महिना अगाडिदेखि नै वैदेशिक प्रशिक्षण पठाएको भए अहिलेको आएको ५१ वटा स्वर्ण पदकभन्दा दोबर स्वर्ण पदक आउने महर्जनको भनाइ छ ।

सन् १९९९ नेपालको भएको आठौं साफको तुलनामा अहिलेको सागमा कम स्वर्ण पदक आएको महर्जनले बताए । ‘किनकि आठौं साफमा जम्मा १२ खेलले मात्र सहभागिता जनाएको थियो । अहिले १३औं सागमा २८ खेलको सहभागिता छ’, उनले भने, ‘त्यो बेलामा करातेले १६ इभेन्टमा १४ स्वर्ण पदक ल्याएको थियो । तेक्वान्दो १६ इभेन्टमा १४ स्वर्ण पदक लाएको थियो । बक्सिङले २ स्वर्ण र पौडीले १ स्वर्ण ल्याएको थियो ।’

‘अहिले करातेको १९ वटा इभेन्टमा जम्मा १० स्वर्ण ल्यायो । तेक्वान्दोले २९ वटा इभेन्टमा जम्मा १२ स्वर्ण ल्यायो । पहिलेको इभेन्ट बढेको कारण पहिलेको तुलनाभन्दा कराते र तेक्वान्दो कम स्वर्ण पदक ल्याएको मानिन्छ’, उनले भने, ‘आठौं साफमा उसु खेल समावेश नै थिएन । अहिले उसु थपेको छ ।’

‘पौडीकि खेलाडी गौरिका सिंह राणामाथि राज्यको कुनै लगानी नै देखिन्न । किनकी गौरिका लन्डनमा बस्छिन् र लन्डन मै आफ्नै पैसाले प्रशिक्षण गर्छिन्’, महर्जनले भनेका छन्, ‘सुटिङका खेलाडीहरूलाई बन्दुक छैन गोली छैन । विदेशी खेलाडीसंग बन्दुक र गोली सापट मागेर प्रतिस्पर्धा गर्नुपर्ने । साईकलिङमा प्रतिस्पर्धा गर्दागर्दै साईकल पञ्चट हुने डर ।’

‘यो राज्यको खेलकुद नेतृत्व गर्नेको कमजोरी हो कि होइन ? लगानी नगर्ने खाली खेलाडीको नाममा पैसा कुम्याउने ? साग गेम खेल्ने खेलाडीहरूले राम्रो खान पाएन । आरामले सुत्न पाएनन् । राम्ररी प्रशिक्षण गर्न पाएनन्’, उनले भने, ‘मार्शल आर्टलाई समयमै वैदेशिक प्रशिक्षणमा पठएको भए मार्शल आर्टमा अर्को १५ देखि २० स्वर्ण पदक भढ्ने निश्चित थियो ।’

‘यो खेलकुद परिषद र ओलम्पिक कमिटीको कमजोरी हो कि होइन ?’, महर्जनले प्रश्न गर्दै भने, ‘यस्तो अवस्था रहेको छ । खेलकुदको ज्ञान नभएको खेलकुद नबुझेको खेलकुद व्याक ग्राउन्डको व्यक्तिले खेलकुदको नेतृत्व गर्ने अबसर नपाएका कारण यो अवस्था आएको छ ।’

अहिले प्रधानमन्त्रीले खेलाडीहरूलाई विशेष प्याकेज ल्याएका छन् । त्यतिले मात्र खेलाडीको जीविका नचल्ने महर्जनले बताए ।

सरकरले पदक बिजेता खेलाडीहरूलाई १ व्यक्ति १ रोजगारको व्यवस्था गर्नुपर्ने महर्जनले बताए ।

‘खेलाडीले आफ्नो सम्पूर्ण जीवन त्यागेर १०–१२ वर्षसम्म प्रशिक्षणमा लागेका हुन्छन् । होइन भने त्यस्ता खेलाडी विदेश पलाएन हुन बाहेक अरु विकल्प रहँदैन’, महर्जनले भनेका छन् ।

Published : Saturday, 2019 December 14, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया