१५ स्वर्णसहित सागमा नेपालको कीर्तिमान

काठमाडौं । नेपालले पहिलो दिन तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा १५ स्वर्ण पदक जितेको छ ।

स्वदेशी भूमिमा सोमबार नेपालले पहिलो दिन एकै पटक १५ स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेको छ ।

खेलामा नेपालले तेक्वान्दो र कराँतेबाट ७–७ स्वर्ण र ट्रायथलनबाट १ गरी १५ स्वर्ण जितेको हो ।

नेपालले कराँतेको काताबाट ३ स्वर्ण जितेको छ । कराँते कातामा व्यक्तिगततर्फ मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् । 

महिला र पुरुष समूह काताबाट पनि नेपालले स्वर्ण जित्न सफल भएको छ ।

कराँते फाइटतर्फ पनि नेपालले ४ स्वर्ण जितेको छ । कराँते फाइट ५५ केजी तौल समूह पुरुषमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् ।

८४ किलोभन्दा माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण हात पारेका छन् ।

महिलातर्फ ५५ केजी तौल समूहमा अनु अधिकारीले स्वर्ण जितिन् । ४५ केजी तौल समूहमा कुसुम खड्काले स्वर्ण हात पारिन् ।

तेक्वान्दो पुम्से विधाबाट पनि नेपालले ७ स्वर्ण जितेको छ ।

तेक्वान्दोबाट कमल श्रेष्ठ र सिना मादेन लिम्बू र पार्वती गुरुङले व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन् । त्यस्तै व्यक्तिगततर्फ नै आयशा शाक्यले पुम्से (कला प्रदर्शनी)बाट स्वर्ण हात पारेकी छिन् ।

आयशाले पुम्सेकै २९ वर्षमाथिकै जोडीमा सञ्जीवकुमार ओझासँग मिलेर अर्को स्वर्ण समेत जितेकी छिन् ।

पुम्से विधाको महिला १७–२३ वर्ष उमेर समूहमा स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना विजयी भएका छन् ।

२३ वर्षमाथि उमेर समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले पनि स्वर्ण जितेका छन् ।

ट्रायथलनको महिला तर्फ पनि नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको खेलमा सोनी गुरुङले स्वर्ण हात पारेकी हुन् ।

Published : Monday, 2019 December 2, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया