तरुण दलको नाममा पाँचथरमा फुटबल, विजेता टिमले पायो एक लाख

फिदिम । पाँचथर जिल्लामा फाल्गुनन्द गाउँपालिकाको याम्बापुङमा सम्पन्न तेस्रो तरूण गोल्डकपको उपाधि वडा नम्बर १ ले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा वडा नम्बर ७ लाई १–० गोलले पराजित गर्दै १ नम्बर वडाले उपाधि कब्जा गरेको हो ।

वडा नम्बर १ को जितका लागि रोशन आङ्देम्बेले खेलको अन्तिम समयमा गोल गरेका थिए ।

बिजेता भएसँगै १ नम्बर वडाले १ लाख १ हजार १ सय ६७ रुपियाँ नगद पुस्कारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको ७ नम्बर वडाले ५१ हजार १ सय ६७ रुपियाँ नगद पुरस्कारमा चित्त बुझाएको छ ।

फाईनल खेलको उत्कृष्ठ खेलाडी वडा नम्बर ७ का प्रदीप आङ्देम्बे भएका छन् ।

उत्कृष्ठ गोल किपर वडा नम्बर १ का सौगात आङ्देम्बे र सार्बाधिक गोलकर्ता वडा नम्बर १ का रोशन आङदेम्बे भए ।

उनले प्रतियोगिता अवधिभरमा ४ गोल गरेका थिए । उनीहरूलाई जनही एक सेट मोबाईल प्रदान गरिएको थियो ।

बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बे, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङ, जिल्ला सचिब तथा फाल्गुनन्द गाँउपालिकाका अध्यक्षका उम्मेदवार बृजहाङ आङदेम्बे, आमन्त्रित जिल्ला सदस्य मणिचन्द्र चेम्जोङ, पाँचथर–काठमाडौं समितिका अध्यक्ष निर्मल रिजाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

चार दिनसम्म सञ्चालन भएको गोल्डकपमा फाल्गुनन्द गाउँपालिकाका ७ टिमले सहभागिता जनाएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार नेपाली कांग्रेस पाँचथरका आमन्त्रित जिल्ला सदस्य मणिचन्द्र चेम्जोङले उपलब्ध गराएका हुन् ।

दोस्रो पुरस्कार पाँचथर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष निर्मल रिजालले उपलब्ध गराएको तरुण दलले जनाएको छ ।

तरुण दलले आफ्नो स्थापना दिवसको अवसर पारेर विगत वर्षदेखि नै फुटबल प्रतियोगिता गराउँदै आएको छ ।

Published : Monday, 2019 November 11, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया