कम्युनिस्ट सरकार अस्तव्यस्त भयो, जनताका काम हुनै छाडेः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विद्यार्थी पढ्नको लागि विदेश जाँदा प्रत्येक वर्ष चालीस अर्बभन्दा बढी पैसा विदेश बाहिरिने गरेको भन्दै चिन्ता जनाएका छन् ।

राष्ट्रिय शैक्षिक परामर्श संघको प्रथम साधारण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खतिवडाले अध्ययनका लागि विदेशिने विद्यार्थीका ट्युशन शुल्क वापत चालीस अर्ब रक विदेशिने गरेको भन्दै त्यसलाई रोक्न सुझाव दिए ।

‘स्थिर सरकारले गर्ने काम भनेको नेपालबाट विदेशिएको चालीस अर्बलाई रोक्नु पर्ने हो । नेपाललाई नै शैक्षिक हब बनाएर नेपालमा त्यो पैसा फिर्ता ल्याउने वातावरण सिर्जना गर्नुपर्छ’, उनले भनेका छन् ।

‘ट्युशन फि मात्रै नेपालबाट विदेशतिर झण्डै चालीसदेखि ५० अर्ब रुपियाँ बाहिरिएको छ’, उनले भने, ‘यो रकमलाई विदेशिनबाट रोक्नेतर्फ दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले गर्नुपर्छ ।’

उनले शैक्षिक परामर्शदाताका नाममा धेरै संस्थाहरू खुलेको भन्दै ती संस्थाहरूलाई सुविधा दिनेदेखि नियमन गर्नेसम्मका काम सरकारले गर्नुपर्ने बताए ।

‘झण्डै १४ सय संस्थाहरू दर्ता हुन लागेका रहेछन् । सात सय संस्थाहरू शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरेका छन्’, उनले भने, ‘कतिय विद्यार्थी शिक्षा मन्त्रालयबाट नोअब्जेक्सन लेटर लिएपनि बाहिर जान पाएका हुँदैनन् । शिक्षा मन्त्रालयले लिनुपर्ने कर लिइसकेको हुन्छ ।’

‘शैक्षिक परामर्शदताका नाममा तपाईहरूले संस्था खोलेर बस्नु भएको छ । सरकारको आँखाहरू तपाईतिर परेका हुन्छन्’, खतिवडाले भने, ‘करहरू तपाईसँग लिएको हुन्छ । यसलाई एकत्रित पारेर संगठित बनाएर तपाईहरूलाई दिने सुविधा र कानून निर्माण नभएका कारणले तपाईहरू अफ्ठ्यारो पर्नुभएको छ ।’

‘छिटोभन्दा छिटो केन्द्र, प्रदेश र स्थानीय तह जहाँ हो त्यहाँ शैक्षिक परामर्शदताहरूलाई एउटा छातामा राखेर अगाडि बढाउनका लागि अनुरोध छ’, उनले भने ।

उनले देशको सिमाना मिचिएकोमा आक्रोश पोख्दै भने, ‘हाम्रो देशको नक्सा समेत परिवर्तन भएको छ । टुँडिखेलमा लगेर बस राख्ने काम भएको छ । आज मात्रै मैले समाचार पढ्दै थिएँ । ई–पासपोर्टका लागि गरिएका टेण्डरहरू अन्तिम समयमा रद्द हुने अवस्था सिर्जना भएका छन् ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार हुँदा पनि देश अस्तव्यवस्त अवस्थामा रहेको बताए ।

‘हामी देश निर्माण गर्ने बेलामा जाने हो । यो मेरो र तेरो भन्ने अवस्था छैन । राम्रोलाई छान्ने पद्धतिका लागि लडेका हौँ । अहिले दुईतिहाइको सरकार छ’, उनले भने, ‘मेरो र तेरो होइन प्रधानमन्त्रीज्यू राम्रो पद्धतिलाई विकास गर्ने काम तपाईहरू लाग्नुहोस् । आफ्नोलाई छान्ने होइन । देश बनाउनका लागि मेरा मान्छे । हाम्रा मान्छे होइन । राम्रा मान्छेलाई यहिँ ठाउँमा कामको ज्ञारेन्टी गर्ने व्यवस्था सिर्जना गरियोस् ।’

‘यसका लागि सबैभन्दा ठूलो माध्यम शिक्षा नै हो । शिक्षालाई जहिले पनि देखाउने रुपमा प्रयोग गर्न थाल्यौँ’, खतिवडाले भने, ‘राम्रा विद्यार्थी उत्पादन गर्ने विद्यालय गाउँमा हुन छाडे । स्कूल पनि दुई प्रकारका हुन थाले ।’

‘गरिबका विद्यार्थी पढ्ने एउटा । धनीका विद्यार्थी पढ्ने अर्को । यो पद्धतिले नेपालको शैक्षिक नीति राम्रोसँग अगाडि जान सक्दैन’, उनले भने, ‘काठमाडौंको बुढानिलकण्डमा पढेको विद्यार्थी र ताप्लेजुङको एउटा स्कूलमा पढेको विद्यार्थी एकै प्रकारको हुन सक्दैनन् । सरकारको ध्यान शिक्षामा जानुपर्ने थियो । तर, अरुतिर गएको छ ।’

‘शैक्षिक परामर्शदाताहरूका नाममा धेरै संस्थाहरू खुलेका छन् । तपाईहरू पनि एउटै संस्था बनेर सरकारलाई घचघच्याउनुस् । माग पूरा गर्न दवाव दिनुस्’, उनले भने, ‘राष्ट्रिय शैक्षिक परामर्श संघलाई तपाईहरूले ‘नेका’ भन्नु हुँदो रहेछ । म त नेका भनेको नेपाली कांग्रेस भनेर सम्झिएको थिएँ ।’

‘सरकारले तपाईहरूलाई करको दायरमा ल्याउने । अफ्ठेरो पर्दा सरकारलाई ढकढकाउँदा धुलो मात्रै झर्ने पद्धति अन्त्य हुनुपर्छ’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘शैक्षिक परामर्शदाताहरूको कुराको सुनुवाई सरकारले गर्नुपर्छ ।’

Published : Saturday, 2019 November 9, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया