राप्ती गाउँपालिकामा नयाँबस्तीलाई खेलकुदको उपाधि

मसुरिया । पूर्वी दाङको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिका वडा नम्बर ३ मा आयोजना भएको टोलस्तरीय खेलकुद प्रतियोगिताको उपाधि नयाँबस्ती टोल विकास संस्थाले हात पारेको छ ।

फुटबल, क्रिकेट र कबड्डी खेलको तीन खेलमा नयाँबस्ती टोल विकास संस्थाले प्रथम स्थान प्राप्त गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवदीले अनुशासित हुँदै खेलाडीहरूले खेल प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे । उनले गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रीयस्तरमा खेल्न सक्ने खेलाडीहरूको पहिचान भएको बताए ।

आइतबारदेखि शुरु भएको प्रतियोगितामा फुटबल, क्रिकेट र कबड्डी गरी १३ टिमले सहभागिता जनाएका थिए ।

फुटबल खेलमा बसन्तापुर टोल विकास संस्था, क्रिकेट र कबड्डी खेलमा बागढड्डी टोल विकास संस्थाले द्वितीय स्थान प्राप्त गरेका छन् ।

कबड्डी खेलमा बसन्तापुर टोल विकास संस्था, खुरुरिया टोलविकास संस्था, बाघढड्डी टोल विकास संस्था र नयाँबस्ती टोल विकास संस्थावीच प्रतिस्पर्धा भएको थियो ।

फुटबलमा नयाँबस्ती टोल विकास संस्था, उत्तर मसुरिया टोलविकास संस्था, खुरुरीया टोलविकास संस्था, बसन्तापुर टोल विकास संस्था, बाघढड्डी टोल विकास संस्थावीच प्रतिस्पर्धा भएको थियो ।

क्रिकेटमा बसन्तापुर ‘ए’ टोल विकास संस्था, नयाँबस्ती ‘ए’ टोल विकास संस्था, उत्तर मसुरिया टोल विकास संस्था, बाघढड्डी टोल विकास संस्थावीच प्रतिस्पर्धा भएको थियो ।

विजेता प्रथम र द्वितीय खेल समूहहरूलाई नगद, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको वडा सचिव दामोदर पोख्रेलले बताए ।

Published : Wednesday, 2019 November 6, 4:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया