गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता चापागाउँमा हुने, देउवाले उद्घाटन गर्ने

ललितपुर । ललितपुर जिल्लाकाे गोदावरी नगरपालिका चापागाउँको प्याङगाउँ चौरमा तेस्रो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएकाे छ ।

नेपाली कांग्रेस लोकप्रिय युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदक पूर्व कोषाध्यक्ष प्रतियोगिता संयोजक मीनकृष्ण महर्जनले प्रतियाेगितालाई बिगतमा जस्तै यस पटक पनि भव्य बनाइने बताएका छन् ।

किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन ललितपुर किक बक्सिङ संघ अध्यक्ष विनोद महर्जनले पदक बिजेता खेलाडीहरूलाई नगद पुरस्कार दिइने जानकारी दिएका छन् ।

महर्जनका अनुसार प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीहरूलाई जनही रु ३० हजार द्वितीय हुने खेलाडीलाई २० हजार र तृतीय हुने २ जना खेलाडीहरूलाई रू १०-१० हजार, बेस्ट खेलाडी पुरुषतर्फ १ जना खेलाडी रू २५ हजार, महिलातर्फ बेस्ट खेलाडी १ जनालाई रू २५ हजार दिइनेछ ।

प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक ल्याउने टिम च्याम्पियन हुनेछ । उसले रू १ लाख नगद पुरस्कार पाउने प्रतियोगिताका संयाेजक महर्जनले बताए ।

महर्जनका अनुसार प्रतियोगिताको प्रारम्भीक तयारी शुरु भइ सकेको छ । प्रतियोगिता मंसिर १९, २० र २१ गते ३ दिन चल्नेछ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले गर्नेछन् । समापन भने नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने प्रतियोगिता संयोजक महर्जनले बताए ।

विगत दुई वर्षदेखि चापागाउँमा किक बक्सिङ प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, ताईक्वाण्डो, उसु, बक्सिङ फुल कन्त्याक्ट कराते, उपत्यकाभित्रका विभिन्न क्लवहरूको सहभागिता हुनेछ ।

उक्त प्रतियोगितामा ३ सयभन्दा धेरै खेलाडीहरूले सहभागिता जनाउने संयोजक महर्जनले बताएका छन् । प्रतियोगितामा सम्पूर्ण खेलाडीहरूलाई खानपानको व्यवस्था हुने महर्जनले बताए ।

प्रतियाेगिता समापनकाे दिन बेलुकी ६ बजेदेखि कबवेब बाण्ड, जेनिथ बाण्ड र कुटुम्बा व्याण्डको लाईभ सोमार्फत प्रस्तुति दिनेछन् । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति पनि हुनेछ ।

Published : Wednesday, 2019 November 6, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया