महर्जनद्वारा खेलकुदका ‘अरिँगाल’हरूको भण्डाफोर

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले १३औँ साग गेमको तयारीबाट आफू सन्तुष्ट नरहेको बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ५, लेलेमा शुक्रबार गंगा जमुना आवासीय माध्यमिक बोर्डिङ स्कुलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले साग गेमको तयारीमा राष्ट्रिय खेलकुद परिषद् र तयारी समितिहरूले चित्त बुझ्ने गरेर कुनै पनि काम नगरेको बताए ।

उनले साग गेमको मिति नजिकिँदै जाँदा भौतिक संरचनाको अवस्था पनि सुधारोन्मुख नरहेको बताए । साग गेमको नाममा सत्तारुढ दल निकटका व्यक्तिहरूले सरकारी बजेट दुरुपयोग गरेको उनले दाबी गरे ।

नेपालमा यहि डिसेम्बर १ देखि १३औँ साग गेम हुँदैछ । उद्घाटनको पहिलो दिन करातेको गेम हुँदैछ ।

‘नेपालको खेलकुदको प्रतिष्ठा भनेकै कराते हो’, उनले भने, ‘करातेको नेतृत्व विवादका कारण साग गेम खेल्ने खेलाडीहरू मानसिक तनाबमा छन् ।’

खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउन ढिला भइसकेको उनले बताए । नेपालको ट्रेनिङले मात्रै खेलाडीलाई नपुग्ने उनको भनाइ छ ।

‘प्रत्यक वर्ष करातेको नियम र टेक्निक चेञ्ज भइरहेछ । मेडल ल्याउनको निमित्त खेलाडीहरूले नयाँ टेक्निक सिक्न जरुरी छ’, उनले भने, ‘करातेका नेतृत्व कर्ताहरू आफ्ना नजिकका कोच र व्यवस्थापक छान्न व्यस्त छन् ।’

परिषदका पूर्वकोषाध्यक्ष महर्जनले आफ्ना नजिकका व्यक्ति ल्याउन खल्तीमा नाम बिकेर हिँड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । करातेबाट साग गेममा नेपालले धेरै फाइदा लिन सक्ने उनले बताए ।

नेपालका लागि अवसर भएको बेला कराते महासंघभित्र विवाद हुँदा त्यसको प्रभाव खेलाडीलाई पर्ने उनको भनाइ छ ।

करातेका इमान्दार खेलाडीको भविष्यमाथि खेलवाड नगर्न महर्जनले चेतावनी दिएका छन् । ‘पैसा कमाउनका लागि करातेलाई व्यवसाय बनाएकाहरू सच्चिनुपर्छ’, उनले भने, ‘अन्यथा त्यस्तो गिरोहलाई खेलाडी र खेलप्रेमीहरूले साइजमा ल्याउन बाध्य हुनेछन् ।’

कराते खेलाडी बनेर विदेश लुकेर बस्ने, नेपाल फर्किएर पुनः कराते खेलको बद्नाम गर्ने जस्ता हर्कत हुन थालेको बताउँदै महर्जनले त्यस्ता व्यक्तिहरूलाई आफ्नो विगत हेर्न सुझाव दिएका छन् ।

‘केही व्यक्तिले कराते खेलको नाममा मेनपावर धन्दा चलाइरहेका छन् । सन् १९९९ मा नेपालमा भएको ८औँ साफ गेममा करातेले १४ वटा स्वर्ण पदक ल्याएको थियो’, उनले भने, ‘अहिले ती भगौडा र तस्कर खेलाडीका कारण करातेको नेतृत्व विवाद भएको छ ।’

कराते महासंघको नेतृत्वमा बसेकाहरूका कारण समस्या देखिएको भन्दै महर्जनले भने, ‘नेतृत्व नसुध्रिने हो भने कराते महासंघ बिघठन गरेपनि हुन्छ ।’

१३औँ साग गेमका लागि बनाइएका समिति र उपसमितिहरूमा आफ्नै पार्टीका कार्यकर्ता भर्ती गरिएको उनले बताए ।

कराते खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ३ दर्जनभन्दा बढी स्वर्ण पदक हासिल गरिसकेका महर्जनले १३औँ साग गेममा पनि नेपाली खेलाडीहरूले करातेमा उल्लेख्य पदक जित्नुपर्ने बताए ।

कार्यक्रममा किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन ललितपुर किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जन कराते प्रशिक्षक ध्रुब खनाल, रवि सिलवाल, प्रिन्सिपल राजन घिमिरे, स्कुलका संथापक पुरुषोत्तम श्रेष्ठ, कराते प्रशिक्षण दिलबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्कुलका विद्यार्थीले सांकृतिक कार्यक्रमका साथै विभिन्न खेल प्रदर्शन गरेका थिए । कार्यक्रमको उद्घाटन महर्जनले गर्नुका साथै खेलाडीलाई पुरस्कार पनि वितरण गरेका थिए ।

Published : Friday, 2019 October 25, 4:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया