यस्ता हर्कतले १३औँ सागमा मेडल जित्न सकिँदैनः शोभित प्रसाइँ

काठमाडौं । करातेका पूर्वप्रमुख प्रशिक्षक शोभित प्रसाइँले कराते खेलमा भएको राजनीतिक हस्तक्षेप र अस्तव्यस्तताबाट उत्पन्न परिस्थितिप्रति चिन्ता जनाएका छन् ।

बिहबार प्रेस नाेट जारी गर्दै प्रसाइँले १३औँ साग खेलको तयारीमा देखिएको हेलचेक्र्याइँको विरोध गरेका हुन् । उनले आफू विगतमा प्रमुख प्रशिक्षक रहेका बेला ठूलो असहयोग भएको स्मरण समेत गरेका छन् ।

अहिलेको तयारीबाट १३औँ साग गेममा नेपालले पद जित्नेमा समेत उनले चिन्ता जनाएका छन् ।

‘आगामी १३औँ साग गेमको लागि बन्द प्रशिक्षणमा रहका कराते खेलाडीहरूको मनोबल गिराउने जनु कार्य भयो त्यसको म खेद प्रकट गर्दछु’, उनले भनेका छन्, ‘म आफै चिफ कोच हुँदा कराते महासंघका सदस्य रवि महर्जनले पनि बाधा उत्पन्न गराउन खोजेका थिए । यस पटक पनि उनले बाधा उत्पन्न गराइ रहेका छन् । यस्ता कार्यहरू तत्काल बन्द हुनुपर्छ ।’

रवि महर्जनलाई प्रशिक्षकका रुपमा आफूले भित्र्याएको बताएका प्रसाइँले देशको इज्जत र खेलाडीको भविष्यसँग खेलवाड नगर्न चेतावनी दिएका छन् ।

‘बन्द प्रशिक्षणमा रहेका खेलाडीहरू आफैमा दक्ष छन् । उच्च मनोबल बढाउँदै देशको लागि मेडल ल्याउन सक्षम छन्’, उनले भने, ‘कोचहरूको बारे प्रस्ट्याउनुपर्छ । हाल बन्द प्रशिक्षणमा रहेका एक दुई जना कोचहरू मात्र योग्य रहेको म ठोकुवा गर्दछु ।’

हाल चलिरहेको करातेको बन्द प्रशिक्षणको थालनी आफ्नै कार्यकाल भएका बेला शुरु भएको उनले बताएका छन् । ‘बन्द प्रशिक्षण १३औँ साग खेललाई मध्यनगर गर्दै बन्द शिविरको शुरुवात गरेको थिएँ’, उनले भने, ‘विगतको सातौँ, आठौँ राष्ट्रिय कराते प्रतियोगिताको लागि छनौँट कार्य सफलताका साथ सम्पन्न र विवाद रहित गरेको थिएँ । ती सबै छनौँट खेलमा नेपालमा रहेका दुबै कराते संघका प्रतिनिधि सदस्यहरूलाई उपस्थित गराइ एकै थलोमा निश्पक्ष र विवाद रहित छनौट सम्पन्न भएको थियो ।’

‘मेरो कार्यकालमा बन्द प्रशिक्षणमा रहेका सम्पूर्ण खेलाडीहरूलाई प्रशिक्षण गराउन मैले सातै प्रदेशबाट दक्ष कोचहरूको नामावली तयार गरी सम्बन्धित निकायमा समेत पेश गरेको थिएँ’, प्रसाइँले भनेका छन्, ‘म चिफ कोच भएको समयमा थाइल्याण्डमा भएको एसियन प्रतियोगितामा नेपालबाट धेरै मात्रामा खेलाडीहरू र प्रशिक्षकहरू पठाउन सफल भएको थिए । जहाँबाट राम्रो नतिजा समेत आएको थियो ।’

‘खेल सामाग्रीको सन्दर्भमा मैले बन्द प्रशिक्षणमा रहेका कराते खेलाडीहरूलाई चाहिने सम्पूर्ण खेल सामाग्रीहरू उपलब्ध गराएको थिएँ’, उनले भने, ‘खेल सामाग्री अभाव हुन दिएन । बन्द प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षणको समय कतैबाट अबरोध बाधा अडचन नहोस भन्नको लागि मैले तत्कालीन सदस्य सचिव केशव विष्टसँग सुरक्षा निकाय भनेर सुरक्षाको व्यवस्था गरिदिन भनेको थिएँ । सुरक्षाको व्यवस्था गरिएन । बेवास्ता भयो ।’

‘विश्वको कुनैपनि देशमा व्यवस्थापक र कराते संघका पदाधिकारीहरूले बन्द प्रशिक्षण भएको बेला प्रशिक्षकलाई बाईपास गरी आफै ड्रेस लगाएर प्रशिक्षण गराएको देखिएको छैन’, उनले भनेका छन्, ‘तर अहिलेको यस घटनाक्रममा संघका सदस्यहरूले कराते ड्रेस लागाएर प्रशिक्षकमाथी हस्तक्षेप गरेको देखियो । यो भनेको गुन्दागर्दी शैली हो ।’

‘म मेरो कार्यकाल यी सबको बारेमा व्यवस्थित हुने गरी प्रशिक्षणलाई नियमित पार्न चाहन्थे तर, महासंघको सदस्य रवि महर्जनलगायत केहीले म लगायतका खेलाडी र प्रशिक्षकहरूलाई मानसिक याताना दिने कार्य बारम्बार भएको कारणले मैले यस सम्बन्धी तत्कालीन सदस्य सचिव केशवकुमार विष्टलाई जानकारी गराएको थिएँ’, उनले भनेका छन्, ‘मेरो कुराको सुनुवाइ भएन । म प्रमुख प्रशिक्षकको नाताले खुलेर काम गर्न पाएन । उल्टै बदनाम गराउन अनेकौँ षड्यन्त्र बुन्न थालेको देखेपछि प्रमुख प्रशिक्षकमा बस्न उचित देखिन ।’

‘यस्तो अवस्थामा कसरी पदकको आशा गर्ने ? यदि त्यस्तो परिणाम भएको खण्डमा त्यसको नैतिकताको जिम्मेवारी मैले नै लिनुपर्ने थियो । त्यो गर्न मैले चाहन्न थिएँ’, उनले भनेका छन्, ‘तपाई लेखेर राख्नुस अहिलेको कराते संघ र महासंघले कहिल्यै पनि करातेको विकास काम गर्ने छैन ।’

‘यिनीहरूको यस्तो कार्यशैलीले कराते खेलको विकास होइन विनास तर्फ हुनेछ’, प्रसाइँले भनेका छन्, ‘राष्ट्रिय खेलकुद परिषदको अनुदान बाहेक आजसम्म कुनै पनि प्रतियोगिता होस् या बन्द प्रशिक्षण होस् यिनीहरूले केही गर्न समेत सकेका छैनन् ।’

Published : Thursday, 2019 October 17, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया