चार दिनमा नेकपाको लगातार दोस्रो हार, मतदाताको वुद्धि पलायो

काठमाडौं । चार दिन अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेससँग लज्जास्पद हार व्यहोरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाल क्रिकेट संघ (क्यान)मा पनि पराजय भोग्नु परेको छ ।

क्रमशः निर्वाचित निकायहरूमा बहुमत हुँदा हुँदै पनि नेकपाका उम्मेदवारहरू धमाधम पराजित हुन थालेका हुन् । दुईतिहाइ बहुमतको दम्भ र अहँकारका कारण नेकपाका उम्मेदवारहरू पराजित भएका छन् ।

नेपाल क्रिकेट संघको निर्वाचनमा पनि नेकपाका उम्मेदवारहरूलाई नेपाली कांग्रेस निकटका उम्मेदवारहरूले पराजित गरिदिएका छन् ।

संघको निर्वाचनमा कांग्रेस निकटका चतुरबहादुर चन्द अध्यक्षमा विजयी भएका छन् । संघमा कांग्रेस निकटका चन्द समूहै प्यानल विजयी भएकाे छ ।

चन्दले ४४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा निकटका विनयराज पाण्डेले १५ मत पाए ।

४ पदाधिकारीसहित १७ जनाको कार्यसमिति रहेको क्यानमा चन्द समूहको वर्चश्व देखिएको छ । क्यानको निर्वाचनमा ५९ जनाले मतदान गरेका थिए ।

उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी मिङ्मा डुन्डु शेर्पा १७ मत प्राप्त गरी पराजित भएका छन् ।

महासचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् । उनले ४३ मत प्राप्त गरेका थिए ।

महासचिवमा प्रतिस्पर्धी विनोद मैनालीले १५ मत मात्रै पाएका छन् । ४५ मतसहित कोषाध्यक्षमा रोशन सिंह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उपेन्द्रप्रसाद भट्टराईले १२ मत प्राप्त गरेका थिए ।

झन्डै साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बन रहेको क्यानले शनिबार नयाँ नेतृत्व पाएको छ ।

विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनसँगै क्यानमाथि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास लिइएको छ ।

खुल्ला सदस्य खुल्लामा दुर्गाराज पाठक (४२ विजयी), वीरेन्द्रबहादुर चन्द (३६ विजयी), माधव कर्माचार्य (३५ विजयी), सञ्जय सिंह (३४ विजयी), करण महतरा क्षत्री (३० विजयी), कैलाश विष्ट (३७ विजयी) भएका छन् ।

प्रदेश २ बाट सदस्यमा दाउद अन्सारी निर्विरोध भएका छन् । प्रदेश ३ बाट अमितवीर पाण्डे ३९ मतसहित विजयी भएका छन् ।

गण्डकी प्रदेशबाट ऋषिराम गौतम निर्विरोध भएका छन् । प्रदेश ५ बाट प्रशान्त मल्ल निर्विरोध भएका छन्, कर्णाली प्रदेशबाट पदमबहादुर खड्का निर्विरोध भएका छन् ।

सुदूरपश्चिमबाट विक्रम विष्ट निर्विरोध भएका छन् । खुल्ला महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध भएकी छिन् ।

Published : Saturday, 2019 September 28, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया