छ महिनापछि ‘साग’को बैठक, उपसमिति गठन

काठमाडौं । काठमाडौंमा हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारी समितिले विभिन्न उपसमितिहरू बनाएको छ ।

बिहीबार काठमाडौंमा ६ महिनापछि पहिलो पटक बसेको समितिको बैठकले सागको तयारीका लागि उपसमितिहरू बनाउने निर्णय गरेको हो ।

समितिको बैठक गएको वैशाख २६ गते यता बस्न सकेको थिएन । भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले साग कार्यविधि पारित गरेको थियो ।

समितिले कार्यविधिमा उल्लेख भएअनुसारका उपसमितिमा संयोजकसहित सदस्यहरूलाई पूर्णता दिएको छ ।

सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति गठन भएको छ ।

खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै तय भैसककेको छ ।

तयारी समिति अन्तर्गतका १५ उपसमितिले बिहीबार पूर्णता पाएसँगै सागको तयारीले पनि तीव्रता लिएको छ ।

यसअघि कार्यविधिकै कारणले तयारीलाई अन्तिम रुप दिन अन्यौलता भएको थियो । कार्यविधि पारित भएपछि पनि तयारी समितिको बैठक बस्न भने १५ दिन लागेको छ ।

सागका लागि ६६ दिनको समय बाँकी रहँदासम्म पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी कुनैले पनि पूर्णता पाउन सकेको छैन । उपसमितिहरू गठन भएपनि खेलाडी र सर्वसाधारणमा सागबारे आन्योल यथावत कायम रहेको छ ।

बिहीबार गठन भएका उपसमितिहरूमा राष्ट्रिय टिम तयारी समिति, खेलस्थल व्यवस्थापन समिति, प्राविधिक समिति, स्रोत साधन परिचालन समिति र सुरक्षा समिति रहेका छन् ।

आवास व्यवस्थापन समिति, यातायात व्यवस्थापन समिति, स्वास्थ्य समिति, प्रचार, प्रसार तथा प्रकाशन समिति र समारोह समिति गठन गरिएको छ ।

स्वयंसेवक परिचालन समिति, अनुगमन, निरीक्षण तथा मूल्यांकन समिति, अतिथि सत्कार समिति, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापन समिति र एन्टी डोपिङ्ग समिति गठन भएका छन् ।

Published : Thursday, 2019 September 26, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया