केपी ओली र ज्ञानेन्द्र शाहबीच भिन्नता भएनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सिंगापुरमा बसेर राजा ज्ञानेन्द्र शाहले जस्तै शासन गर्न खोजेको भन्दै आलोचना गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित अलग–अलग कार्यक्रमहरूलाई सम्बोधन गर्दै युवा नेता खतिवडाले ओलीले सिंगापुरमा बसेर मन्त्रिपरिषदलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

उनले यस्ता कार्यले कार्यबाहक प्रधानमन्त्री र मन्त्रीहरूमाथि ओलीको अविश्वास रहेको संकेत देखाएको बताए । पूर्वराजाले पनि कसैलाई विश्वास नगरेर सबै कुरामा हस्तक्षेप गर्न खोज्दा सत्ता गुमाउनु परेको उनले स्मरण गराए ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सरकारसहित हरेक ठाउँमा आफ्नो नियन्त्रण र निगरानी गर्न खोजेका थिए । उनको अन्त्य भयो’, खतिवडाले भने, ‘हाम्रो प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूले पनि सिंगापुरमा बसेर भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक राखेर सबैलाई आफ्नो नियन्त्रणमा राख्न खोज्नुभएको छ । यो गतिलो संकेत होइन ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनतालाई ४० प्रतिशतसम्म व्यक्तिगत सम्पत्तिमाथि कर लगाएर आतंकित बनाएको आरोप लगाए ।

उनले चीनमा पनि व्यक्तिगत सम्पत्तिमाथि छुट दिएको बताउँदै ओली सरकारले जनतालाई करले थिचोमिचो गरेको बताए । चीनमा भन्दा पनि कडा कर नीति ल्याएको भन्दै खतिवडाले विरोध जनाए ।

‘राज्यलाई कर तिर्न जनता तयार छन् । तर केका लागि कर तिर्ने ?’, उनले प्रश्न गर्दै भने, ‘मन्त्री र स्थानीय तहका अध्यक्ष र उपाध्यक्षलाई गाडी र सेवा सुविधा दिनका लागि हो ? कर तिरे अनुसारको जनताले के सुविधा पाए ?’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई कतैबाट पनि वैदेशिक सहयोग नआएपछि जनतालाई कर लगाएर राजश्व उठाउने नीति लिएको बताए । दुईतिहाइको यही गलत नीति र व्यवस्थाले जनताले बिकल्प खोज्न शुरु गरेको बताए ।

उनले अब नेपाली कांग्रेस यो कम्युनिस्ट सरकारका विरुद्ध भण्डाफोर अभियानमा लाग्नुभन्दा अर्को बिकल्प नरहेको बताए ।

त्यसका लागि नेपाली कांग्रेसले पार्टीभित्र रहेको मनमुटावलाई थाँती राखेर अगाडि बढ्नुपर्ने खतिवडाले सुझाव दिएका छन् । उनले संगठन निर्माणमा पनि जोड दिएका छन् ।

Published : Saturday, 2019 August 31, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया