यो छाँटकाँटले १३औँ साग गेम डिसेम्बरमा हुँदैनः मीनकृष्ण महर्जन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् पूर्वकोषाध्यक्ष एवम् करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले जिम्मेवार पदमा बसेका व्यक्तिहरू साग गेमकाे तयारी र खेलकुदको विकास गर्नेभन्दा पनि भाषणबाजी र सम्मान थाप्ने कार्यमा व्यस्त रहेको आरोप लगाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू १३औँ साग गेमको तयारीको काममा भन्दा पनि भाषणबाजी गर्न व्यस्त रहेको आरोप लगाउँदै महर्जनले खेलको तयारी र खेलाडीको प्रशिक्षणमा ध्यान दिन सुझाव दिए ।

उनले नेपालको गौरवसँग जोडिएको १३औँ साग गेमलाई सफल बनाउनेतिर परिषदका पदाधिकारीहरू नलागेको आरोप लगाए ।

यही डिसेम्बर १ देखि १० सम्म नेपालमा १३औँ साग गेम हुँदै छ । साग गेमको तयारी गर्ने विषयमा परिषदका पदाधिकारीहरूले गृहकार्य गर्नेभन्दा पनि भाषणबाजी र सम्मान थाप्दै हिँडिरहेका बेला परिषदका पूर्वकोषाध्यक्षले आलोचना गरेका हुन् । खेलकुद जगतका महर्जन एउटा हस्तीका रुपमा परिचित छन् ।

कराते खेलमा महर्जनको ठूलो लगानी छ । उनले प्रशिक्षण दिएका र संरक्षण गरेका सयौँ करातेका खेलाडीले देशलाई गोल्ड मेडल दिलाउनुका साथै देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएका छन् ।

१३औँ साग गेम २ वर्ष अगाडि नै गर्नुपर्ने थियो । तर, राजनीतिक खिचातानी र व्यक्तिगत स्वार्थले तयारी नपुगेपछि डिसेम्वरमा हुन थालेको छ ।

परिषदका पदाधिकारीहरूले साग गेम समयमा गर्ने भनेर भाषण गर्दै आएका छन् । तर, पूर्वकोषाध्यक्ष महर्जनले अहिलेकै तयारी र लापरबाहीले १३औँ साग गेम डिसेम्बर महिनामा हुने सम्भावना निकै कम रहेको बताए ।

‘म त सभावना देख्दिन । किन कि भएको एउटा रंगशाला पुनर्निमाण गर्ने भनेर भत्काइयो । अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन’, परिषदका पूर्व कोषाध्यक्ष महर्जनले भने, ‘अरु भौतिक पूर्वाधार पनि पूरा भएको छैन ।’

‘साग गेमको लागि सरकारबाट बजेट निकासा पनि भएको छैन’, महर्जनले भने, ‘साग गेम हुन अब ३ महिनाको समय बाँकी छ । खेलाडीहरूको फाइनल छनौट गर्ने काम भएको छैन । कराते, तेक्वाण्डो, बक्सिङ, उसु र जुडोका खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउन ढिला भइसकेको छ ।’

‘किन कि मार्शल आर्ट गेम खेलाडीहरूलाई नेपालको ट्रेनिङले मात्र पुग्दैन’, उनले भने, ‘अरु देशका खेलाडीहरू साग गेमको लागि विदेशमा ट्रेनिङ गरिरहेका छन् । केही देशले विदेशबाट कोच ल्याएर ट्रेनिङ गराइरहेका छन् ।’

नेपाल हुने भनिएको साग गेममा मेडल ल्याउन सकिएन भने गेम गर्नुको कुनै अर्थ नहुने उनले बताए । ‘हामी तमाम खेलकुदप्रति आस्था राख्नेहरू नेपालमा हुने १३औँ साग गेम हुनु पर्छ भन्ने हाम्रो मान्यता हो’, करातेका पूर्व अन्तर्राष्ट्रिय महर्जनले भने, ‘त्यसैले हामी यो दुईतिहाईको कम्युनिस्ट सरकारको परीक्षाको घडी आएको छ ।’

‘नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदलाई नेपालले २ वर्ष ढिलो भएपनि साग गेम गर्न पाएको अवसर गुमाउनु हुँदैन’, महर्जनले भने, ‘होइन भने ३ करोड नेपाली जनताको शिर निहुरिनेछ ।’

सन् १९९८ नेपालमा भएको आठौँ साफ गेममा ३१ वटा स्वर्ण पदक ल्याएर नेपाल दोस्रो स्थान प्राप्त गरेको थियो । भारतले पहिलो स्थान प्राप्त गरेको थियो ।

त्यो बेला नेपालले करातेबाट १४ स्वर्ण, तेक्वाण्दोले १४ स्वर्ण, बक्सिङले २ स्वर्ण र पौडीले १ स्वर्ण पदक हासिल गरी इतिहाँस रचेको थियो ।

आठौँ साग गेमाका बेला राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष महर्जन कराते कोचको भूमिकामा थिए ।

Published : Friday, 2019 August 16, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया