संगीता र संजु बेष्ट लिफ्टर

काठमाडाैं । नेपाल स्टङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा महिलातर्फ बेष्ट लिफ्टरमा सिनियर तर्फ पुलिसकी संगिता राई र जुनियर तर्फ पुलिसकै संजु चौधरी भएका छन् ।

उनीहरूले ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरूले १ हजार नगद प्राप्त गरे । काठमाडौं जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् । सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ केजी र कुलमा १७० केजीका साथ स्वर्ण हात पारिन् ।

दोश्रो स्थानमा रहेकी एपिएफकी जयन्ती श्रेष्ठले स्नाचमा ५५ केजी र क्लिन एण्ड जर्कमा ६० केजी गरि कुल ११५ केजी भार बहन गरिन् । तेश्रो स्थानमा दाङ्गकी कल्पना चौधरी रहिन् । उनले स्नाचमा ४० केजी र क्लिनमा ५० गरि कुल ९० केजी भार बहन गरिन् ।

८१ केजी तौलमा पुलिसकी लक्ष्मी बनले तीन राष्ट्रिय कीर्तिमान राखिन् । उनले आठौ राष्टिय खेलकुदमा राखेको आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन् ।

बनले स्नाचमा ६५ केजी र क्लिनमा ८३ केजी गरी कुल १४८ केजी भार बहन गर्दै तीनै विधामा कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा ६४, ८२ र कुल १८६ केजीको रेकर्ड थियो । सेनाकी मनकुमारी कुमालले स्नाचमा ५८ र क्लिनमा ६५ गरि कुल १२३ केजीका साथ रजत पाईन् ।

सिनियरकै ८७ केजी तौलमा पुलिसकी बिद्या राईले क्लिन एण्ड जर्कमा ७६ केजीका साथ नयाँ कीर्तिमान कायम गरिन् । उनले आफ्नै ७५ केजीको कीर्तिमानमा सुधार गरेकी हुन् ।

राईले स्नाचमा ५३ केजी र कुलमा १२९ केजी भार बहन गरिन् । उदयपुरकी कान्ता भुजेलले स्नाचमा ३५ र क्लिनमा ४५ गरी कुलमा ८० केजीका साथ रजत पाइन् ।

८७ केजी माथिको तौलमा नेपाली सेनाकी अस्मिता राईले स्नाचमा ५८, क्लिनमा ७० गरि कुल १२८ केजी भारका साथ तीनै विधामा कीर्तिमान राखिन् ।

यसअघि उनले आठौमा ५३ केजी ६८ केजी र कुलमा १२१ केजीको कीर्तिमान राखेकी थिइन् । नेपाल पुलिसकी सुधा थापाले स्नाचमा ५३ क्लिनमा ६७ गरी कुलमा १२० केजीका साथ रजत पाइन् । सिराहाकी मनिता चौधरीले कास्य पाइन् । उनले स्नाचमा ४२, क्लिनमा ६० र कुलमा १०२ केजी भार बहन गरिन् ।

पुरुषको ६७ केजी जुनियरमा पुलिसका प्रकाश केसीले स्नाचमा १०६ केजी र क्लिन एण्ड जर्कमा १२५ गरी कुल २३१ भारका साथ तीन बिधामा राष्ट्रिय कीर्तिमान बनाए ।

उनले आठौ राष्ट्रिय खेलकुदमा १०३, १२२ र २२५ केजीको कीर्तिमान राखेका थिए । बीरगंज युनाईटेडका निरज गुप्ताले ७०, ९० र १६० केजीका साथ रजत तथा कास्कीका किरण घर्ती मगरले ६०, ७१ र कुल १३१ केजीका साथ कास्य पाए ।

सिनियरतर्फ नेपाली सेनाका जीवन तामाङ्गले स्नाचमा ८३ केजी, स्नाचमा १०८ गरी कुल १९१ केजीका साथ स्वर्ण, सेनाकै संतोष थपलियाले ८३, १०७ र १९० केजीका साथ रजत तथा कास्कीका धन बहादुर झाक्री मगरले ८५, ९८ र १८३ केजीक साथ रजत पाए ।

पुरुषको ७३ केजी जुनियरमा बीरगंज युनाईटेडका सजरुद्धिन आलमले स्नाचमा ७३ क्लिनमा ५२ र कुलमा १६५ केजीका साथ स्वर्ण, एपिएफका सुलभ बस्नेतले ७३, ८२ र कुल ८२ केजीका साथ रजत तथा बीरगंज युनाईटेडका सुनिल कुमार सर्राफले ३५, ४५ र कुल ८० केजीका साथ कास्य पाए ।

सिनियर तर्फ सेनाका यज्ञ बहादुर सारुले स्नाचमा ९८, क्लिनमा १२७ र कुलमा २२५ केजीका साथ स्वर्ण, सेनाकै हेम नारायण श्रेष्ठले ८७, १०७ र १९४ केजीका साथ रजत तथा धनुषाका सरोज यादवले ६५, ८६ र १५१ केजीका साथ कास्य पाए ।

पुरुष ८१ केजी तौलमा नेपाल पुलिसका विकाश थापाले तीन कीर्तिमान राखे । उनले स्नाचमा १२० केजीका साथ राष्ट्रिय कीर्तिमान राखे ।

उनले आफैले आठौं राष्ट्रिय प्रतियोगितामा राखेको ११५ केजीमा ५ केजीले सुधार गर्दै कीर्तिमान राखेका हुन् ।

उनले क्लिनमा पनि एक केजी बढी उचाल्दै १३६ केजी भारका साथ कीर्तिमान कायम गरे । उनले कुलमा २५० केजीबाट तौल बढाई २५६ केजीका साथ राष्ट्रिय कीर्तिमान राखे ।

दोश्रो स्थानमा रहेका एपिएफका महेश चौधरीले १०५ केजी स्नाच, १३० केजी क्लिन र २३५ केजीका साथ रजत तथा एपिएफकै सन्तोष चौधरीले ९० स्नाच, १२१ क्लिन र कुल २११ केजीका साथ कास्य पाए ।

जुनियर तर्फ बाँकेका सुरज बैश्यले स्नाचमा ८०, क्लिनमा १०१ गरी कुल १८१ केजीका साथ स्वर्ण, कञ्चनपुरका विकाश भट्टले ७०, ९२ र १६२ केजीका साथ रजत तथा छोटु स्टेसनरी एण्ड सप्लायर्सका संजय यादवले ५५, ८३ र कुल १३८ का साथ कास्य पाए ।

८९ केजी तौलमा सेनाका दिनेश कार्कीले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै दुई राष्ट्रिय कीर्तिमान बनाए । उनले आठौमा राखेको क्लिन एण्ड जर्कमा १३२ मा सुधार गर्दै १३५ केजी उचाल्दै कुलमा पनि २३० केजीलाई बढाउँदै २४० केजीका साथ दुई कीर्तिमान राखेका हुन् ।

कार्कीले स्नाचमा १०५ केजी भार बहन गरे । दोश्रो स्थानमा रहेका पुलिसका ओम प्रकाश बैश्यले स्नाचमा १०५ केजी भारका साथ कीर्तिमान बनाए ।

बैश्यले १०५ केजी दोश्रो प्रयासमामा उचाल्दै कीर्तिमान बनाएका थिए । कार्कीले तेश्रो प्रयासमा १०५ केजी उचालेता पनि पहिले कीर्तिमान बनिसकेकाले उनले बराबरी मात्र गरे ।

बैश्यले क्लिनमा १३० र कुलमा २३५ केजी उचाले । तेश्रो स्थानमा रहेका एपिएफका तिलक बहादुर थापाले स्नाचमा ९०, क्लिनमा १२५ र कुल २१५ भार बहन गरे । जुनियरतर्फ बाँकेका अश्विन सोनीले स्नाचमा ६२, क्लिनमा ६५ गरि कुल १२७ केजी उचाल्दै स्वर्ण जिते ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरुष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

करीव १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागीय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । बाहिरबाट आएका खेलाडीहरूको लागि खाने र बस्ने बाबा गेष्ट हाउस कलंकीले ब्यवस्था गर्ने भएको छ ।

Published : Wednesday, 2019 August 14, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया