सागका लागि कुमुतेमा पहिलो चरणमा ३४ खेलाडी छनोट

काठमाडौं । नेपाल कराते महासंघले १३औं सागका लागि टिम कुमुतेतर्फ पहिलो चरणको खेलाडी छनोट सम्पन्न गरेको छ ।

बिहीबार ललितपुरको सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन् ।

पुरुषतर्फ विनोश शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, विनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लव श्रेष्ठ, शेखर श्रेष्ठ, सुशील पौड्याल र वीरबहादुर रनेनी रहेका छन् ।

महिलातर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पूजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी दिए ।

पुराना तथा साग पदकधारी खेलाडीहरू अमृता शाक्य, विनोद शाक्य, विनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका छन् ।

करातेको टिम कुमुतेमा पुरुषतर्फ ७ र महिलातर्फ ५ खेलाडीहरूको सहभागिता रहनेछ ।

पहिलो चरणमा पुरुषतर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्नबाट बन्चित भए ।

महिलातर्फ १० खेलाडी छनोट गर्नुपर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरे पश्चात १० खेलाडीमात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्रि संयोजक कपालीले जानकारी गराए ।

नेपाल कराते महासंघका महासचिव हरिसरण केसीको सभापतित्वमा भएको छनोट प्रतियोगिताको प्रमुख अतिथी राखेपका पूर्वकोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक मीनकृष्ण महर्जनले कराते खेलाडीहरूले आठौं सागमा राखेको साखलाई १३औं सागमा पुनः कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले खेलाडीको अधिकार र खेलको विकासका लागि सधैँ सक्रिय रहने बताए ।

Published : Thursday, 2019 August 1, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया