देउवाकाे टिप्पणीले कम्युनिस्ट सरकारलाई तनाव

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

बुधबार संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने बताएका हुन् ।

उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताएका हुन् ।

भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने सभापति देउवाले बताएका छन् ।

‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?’, देउवाले प्रश्न गरे, ‘कुटनीतिक तरिकाले कुरा गरेर सदाका लागि समस्या समाधान गर्नुपर्छ । एकले अर्कोलाई गाली गरेर हुँदैन ।’

बाढी र डुवान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेको भन्दै देउवाले डुवान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको आरोप लगाए ।

‘घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो’, उनले भने, ‘केही गरेको छैन । बरु विदेशी एनजिओले गरेका छन् ।’

सरकार भनेको दुःख परेको बेला चाहिने भन्दै देउवाले यस्तो भयावह स्थितिमा सरकारले ध्यान नदिएको दावी गरेका छन् ।

देउवाले दिएकाे अभिव्यक्ति

हेलिकप्टरबाट कहीँ उद्धार हुन्छ ? जुन कुरा सरकारको काम हो, जुन कुरामा सरकार तात्नु पर्ने हो, जुन हिसाबले लाग्नु पर्ने हो कहीँ पनि लागेको छैन ।

रौतहटमा म पुग्दा डुवान थियो । यता, जनकपुरको कमला नदीले कटान गर्दा धेरै ठूलो नोक्सानी भएको छ । बाढीले तटबन्दसमेत बगाएको छ । हेर्दा त बलियो थियो तटबन्द, तर बाढीले त्योसमेत तोड्ने गरी आएको रहेछ ।

त्यो कति भयानक थियो होला ? सिरहामा पनि धेरै तटबन्द भत्किाएका छन् । त्यहाँ पनि मानिसहरु विस्तापित भएर हिँडिरहेका छन् । खाने कुरा केही छैन ।

कमला नदीको बाढीले दुबैतिर कटान गरेको छ । साना तिना खोलाले पनि त्यस्तै गरेको छ । सप्तरीमा पनि ठूलो नक्सान भएको छ । तिलाठी पुरै खत्तम पारेको छ, रामनगर खत्तम पारेको छ । त्यहाँ हिड्न सक्ने अवस्था छैन । त्यसको उत्तरतिर पहिरो आएर खतम पारेको छ ।

सुनसरी पनि पुरै डुवानमा परेको छ । घर डुवानमा पर्दा त्यहाँका नागरिक टहरामा बसिरहेका छन् । तर, प्रदेश २ मा स्थानीय सरकार समेत पुगेको अवस्था छैन । यो कस्तो राज्य हो ? कस्तो सरकार हो ? दुःख परेको बेला त्यहाँ जनतालाई साथ दिनुपर्ने होइन ? न खाद्यन्न छ, न लत्ता कपडा छ, न पाल दिएको छ, न केही दिएको छ ।

पानी रोकिए पछि घर जाउँला भनेर नागरिक बसिरहेका छन् । तर, पानी रोकिएको छैन । उता, घरमा रहेको खाद्यन्न पुरै डुवानमा परेर खत्तम भएको छ ।

पहाडमा पनि बाढी र पहिरोले धेरै मानिस मरिसकेका छन् । गुल्मी कै कुरा आज एउटा पत्रिकामा पढेको थिए । यत्रो भयाभव स्थिति छ, सरकारले कुनै किसिमको ध्यान दिएको छैन ।

कुनै किसिमको सहयोग गरेको छैन । सरकारले सम्पूर्ण जनतालाई दुःखमा पर्दा हेर्नु पर्ने हो । सरकार भनेको राज्य हो । राज्यले जनताको दुःखमा सहयोग गरेन भने कस्ले गर्छ ? हामी एउटा पार्टीले मात्र के गर्ने ?

Published : Wednesday, 2019 July 24, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया