बालुवाटार जग्गा काण्डमा कांग्रेस नेता नफस्ने, कम्युनिस्ट अरिँगालहरूलाई तनाव

काठमाडौं । नेपाली कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले उपचारका लागि विदेश गएका बेला बालुवाटारको जग्गा प्रकरणलाई लिएर आएका समाचारप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर गच्छदारले बालुवाटार जग्गा प्रकरणको छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्यका सबै अंगलाई सहयोग गर्ने बताएका हुन् ।

उनले भने, ‘ममाथि पनि प्रश्न उठ्यो भने सम्बन्धित निकायमा जान तयार छु । स्वतन्त्र अख्तियारले छानबिनका क्रममा आवश्यक देखे मलाई पनि बोलाउन सक्छ ।’

बालुवाटारको जग्गाको विषय आफूसँग सम्बन्धित नभएको गच्छदारले बताए । उनले भने, ‘मैले गरेकोजति काम संविधानसम्मत छ ।’

उनले आफू उपचारको सिलसिलामा भारत हुँदै अमेरिका पुगेको बताएका छन् । ‘बालुवाटारको जग्गाको विषयमा मेरो नाम पनि जोडिएर अखबारमा समाचार आए’, उनले भनेका छन् ।

गच्छदारले भने, ‘सुटुक्क आयो भनेर चासो बढ्ला भनेर प्रेसलाई बोलाएँ ।’ उनले आफ्नो कार्यक्रम छोट्याएर आएको पनि बताएका छन् ।

उनले आफूलाई कुनै पनि सरकारी निकाय वा अख्यिारले सम्पर्क नगरेको बताएका छन् ।

उनले भने, ‘भागेको भन्ने आशयले समाचार आएकोमा दुःख लागेको छ ।’ कम्युनिस्ट निकटका केही सञ्चारमाध्यमहरूले गच्छदारलाई अमेरिका र भारतमा भागेको भनेर समाचार प्रकाशित गरेका थिए ।

उनले नामसारी गर्ने भौतिक मन्त्रालयले काम नभएको बताए । ०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुँदा आफूले बालुवाटारस्थित प्रधानमन्त्रीनिवास परिसरसहित काठमाडौंका विभिन्न बाटो फराकिलो गर्ने काम भएको गच्छदारले बताएका छन ।

उनले बालुवाटारको जग्गा प्रकरण १० वर्षपछि अनावश्यक रूपमा आएको बताए ।

‘तलबाटै टिप्पणी उठेर आउने प्रक्रिया हुन्छ । तर, कसको जग्गा हो उसैले हेर्ने हो’, उनले भने, ‘जग्गाका विवरण सम्बन्धित कार्यालयले हेर्ने हो । मन्त्रिपरिषद्ले नियमसंगत निर्णय गर्ने गर्छ । आँखा चिम्लेर मन्त्रिपरिषद्ले निर्णय गर्दैन ।’

बालुवाटारको सरकारी जग्गा काण्डमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको छोराको नाममा जग्गा देखिएपछि झन् विवाद हुँदै आएको छ । पौडेलले आफ्नो छोराको नाममा बालुवाटारको सरकारी जग्गा रहेको स्वीकार गरिसकेका छन् ।

त्यति मात्रै होइन भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, एनआरएनएले समेत बालुवाटारको जग्गा किनेको खुलासा भइसकेको छ ।

Published : Monday, 2019 July 22, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया