कांग्रेस र राजपामाथि निर्मम बने सभामुख, कम्युनिस्टहरूसँग दुरी बढ्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदलाई सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभाको बुधबारमा नारावाजी भएको छ ।

कांग्रेस र राजपाका सांसदहरूले बोल्न समय माग गरेपनि सभामुख महराले माननीय सदस्यहरूले हिजै कुरा राखिसक्नुभयो भनेपछि प्रतिपक्षी दलका सांसदले संसद बैठक अवरूद्ध पारेका हुन् ।

कांग्रेस र राजपा सांसदले उठेर विरोध गरिरहेपछि सभामुख महराले असार ३० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरूको अवरोधका बीच सभामुख महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूमा नै कांग्रेस र राजपाका सांसदहरूले उभिएर विरोध जनाएका थिए ।

दुवै दलका सांसदहरूले उभिएर विरोध जनाइरहेका बेला सभामुखले बोल्नका लागि समय नदिइकनै बैठकको कार्यसूची अगाडि बढाएका हुन् ।

कांग्रेस र राजपाका सांसदहरूले रोष्ट्रम घेराउ गरी नाराबाजी गरिरहेकै समयमा संसदीय व्यवस्था कायम गर्न माग गर्दै नाराबाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेइसौं विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए ।

कांग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरूद्ध गरेका थिए ।

सभामुख महराले फेरि अर्को पटक नेपाली कांग्रेस र राजपाको विरोध हुँदा हुँदै संसदको बैठक पेलेरै चलाएका छन् । यसअघि पनि महराले संसदको बैठक पेलेरै चलाउने गरेका थिए ।

सभामुख महराको कार्यशैलीको नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले विरोध गरेका छन् । सभामुख महराको बुधबारको कार्यशैलीबाट प्रतिपक्ष र सरकारबीच पुनः दुरी बढ्न थालेको छ ।

Published : Wednesday, 2019 July 10, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया