नेपाललाई क्रिकेटमा शानदार जित, उपाधिमा कब्जा

काठमाडौं । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा शानदार जित निकालेको छ ।

मलेसियामा मंगलबार भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । उपाधि रक्षासँगै नेपाल विजेटा बनेको छ ।

यसअघि नेपालले २ वर्षअघि भएको प्रतियोगिताको पनि उपाधि जितेको थियो ।

हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो ।

नेपालका ओपनर रित गौतम १३ रन र पवन सर्राफले ३९ रन जोडे । रितले १४ बलमा २ चौका र पवनले ३६ बलमा ५ चौका र १ छक्का हिर्काए ।

खडकबाहादुर बोहरा २२ बलमा ८ रन र कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन जोडेर आउट भए। भीम सार्कीले नटआउट ८ रन जोडे । बलिङमा हङकङका रौनक कपुरले २ विकेट लिए ।

मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भयो ।

हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे । उनले ५ विकेट हात पारे ।

किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन खर्चिए । सागरले ५ ओभर मेडन राखेका थिए ।

कमलसिंह ऐरीले ३ विकेट हात पारे। कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन दिए ।

कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । कुशलले ८.१ ओभरमा ५ मेडन राख्दा ४ रन मात्र खर्चिएका थिए ।

हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुले । उनले ७१ बल खेल्दा ४ चौका प्रहार गरेका थिए ।

कुल्हान मार्क काल्लुले ३८ बल खेलेर २ चौका र १ छक्काको मद्दतमा १९ रनको योगदान दिए ।

रौनक कपुर १२ रन बनाउदा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाई आउट भए ।

उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू–१९ एसिया कपमा छनोट भएको छ ।

एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएईले खेल्ने पक्का भइसकेको छ ।

Published : Tuesday, 2019 July 9, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया