ओलीको निर्णयले प्रचण्ड चकित, खेलकुद क्षेत्रबाटै माओवादी क्लीन स्वीप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा आफू निकटका व्यक्तिलाई नियुक्ति गरेर दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिल्याइदिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको १८औँ सदस्य सचिवका नियुक्ति गर्ने निर्णय गरेका हुन् । सिलवाललाई सदस्य सचिव नियुक्ति गरेको निर्णयका बारेमा आधिकारिक रुपमा केही जानकारी दिइएको छैन ।

परिषदको सदस्य सचिवमा नियुक्ति भएका सिलवाल गोल्डेनगेट कलेजका सञ्चालक हुन् । उनी हिसानको अध्यक्ष पनि हुन् । ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए । सिलवाललाई शैक्षिक व्यापारीका रुपमा नेकपाभित्र चिन्ने गरिन्छ ।

नेपाल क्रिकेट संघ क्यान आईसीसीको निलम्बनमा पर्दा सरकारले सिलवालकै नेतृत्वमा क्यानको तदर्थ कमिटी बनाएको थियो ।

केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिएको थियो । त्यसपछि कम्युनिस्ट सरकारले नयाँ सदस्य सचिवका रुपमा सिलवाललाई नियुक्त गरेको स्रोतले जनाएको छ ।

सदस्य सचिव बन्ने दौडमा निवर्तमान सदस्य सचिव केशव विष्टसहित राखेपा उपाध्यक्ष पीताम्बर तिमल्सिना समेत रहेका थिए ।

यौ दौडमा स्वयम्भुराज डंगोल, मीना श्रेष्ठ, दानबहादुर तामाङ, सुदिल शाही, गोविन्द थापालगायतले प्रयास गरेका थिए ।

नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा आफ्ना ब्याडमिन्टनका प्रशिक्षक सुदिल शाहीलाई नियुक्ति गर्न खोजेका थिए ।

दाहालले शाहीको नाम सिफारिस गरे पनि प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले रमेश सिलवाललाई सदस्य सदस्य सचिवमा नियुक्तिका लागि प्रस्ताव ल्याएको माओवादी पृष्ठभूमि भएका एक मन्त्रीले जानकारी दिए ।

पार्टी र सरकारमा हरेक ठाउँमा ६०–४० को भागबण्डा गर्ने सहमतिमा पार्टी एकीकरण गरेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच यो सहमति कार्यान्वयन हुन सकेको छैन ।

नेकपाका दोस्रो तहका अध्यक्ष दाहाललाई फेरि एक पटक खेलकुद क्षेत्रमा समेत धक्का लागेको छ । दाहालले चाहँदा पनि आफ्ना प्रशिक्षकलाई सदस्य सचिव बनाउन सकेनन् । यो पछिल्लो निर्णयले खेलकदु क्षेत्रमा तत्कालीन माओवादीहरू शून्य सरह हुन पुगेका छन् ।

नेकपाको खेलकुद महासंघको अध्यक्ष एमाले पृष्ठभूमि भएका पुरुषोत्तम पौडेल छन् । सात प्रदेशमध्ये छ वटा प्रदेशमा एमाले पृष्ठभूमि भएकाहरू नै अध्यक्ष छन् । एउटा प्रदेशमा मात्रै माओवादी पृष्ठभूमि भएकाले अध्यक्ष पाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पनि एमाले पृष्ठभूमि भएका पिताम्बर तिमिल्सिना रहेका छन् । मन्त्री विश्वकर्मा पनि एमाले पृष्ठभूमिकै हुन् ।

परिषदको सदस्य सचिव हत्याउन झापा घर भएका गोविन्द थापाले समेत ठूलो चलेखेल गरेका थिए । थापाको चलखेलले पनि काम गरेन ।

परिषदको सदस्य सचिव हत्याउनकै लागि थापाले ओली सरकारको गुण गाउन आफ्नै लगानीमा अनलाइन समेत खोलेका थिए । थापालाई त्यो अनलाइनले फाइदा दिएन । बरु ओलीको नाममा थापाले विज्ञापन भने धमाधम उठाइरहेका छन् ।

तत्कालीन युवा संघका उपाध्यक्ष समेत रहेका थापा एमालेको कोटाबाट व्यापारीकी पत्नी राज्यलक्ष्मी गोल्छालाई समानुपातिकमा सभासद बनाएर ५० लाख लिएको काण्डमा मुछिएका थिए । थापाले अहिले पनि प्रहरीको सुरुवा, बढुवाका फाइलहरू बोकेर बालुवाटारतिर धाउने गरेको उच्च स्रोतले जनाएको छ ।

Published : Monday, 2019 July 8, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया