‘रअ’का प्रमुख फेरिंदा नेपालमा हलचल

काठमाडौं । भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि दोहोरिएपछि दक्षिण एसियाली छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध र सुरक्षा नीतिलाई लिएर भारत गम्भीर छ भन्ने मोदीका पछिल्लो गतिविधिहरूले देखाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिँदै गर्दा परराष्ट्र मन्त्रीको जिम्मेवारी एस जयशंकरलाई दिएपछि त्यो चर्चा भएको हो ।

भारतीय विदेश सचिव रहेका बेला एस जयशंकरले नेपालमा नाकाबन्दी लाग्नुभन्दा केही समय अगाडि काठमाडौं आएर अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेका थिए ।

०७२ सालमा भारतले लगाएको नाकाबन्दीअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै एस जयशंकर भक्तपुरको बालकोटस्थित निवासमा पुगेर ओलीलाई भेटेका थिए । भेटमा एस जयशंकरले ओलीलाई संविधान जारी गर्न केही ढिलाइ गर्न दवाव दिएका थिए ।

त्यतिखेर प्रधानमन्त्री बन्ने लाइनमा कुरेर बसेका ओलीले एस जयशंकरको कुरा सुनेनन् । बरु एस जयशंकरलाई हप्काएर पठाए । जसको फलस्वरुप नेपालमा नाकाबन्दी लाग्यो ।

अहिले उनै व्यक्ति भारतको विदेश मन्त्री बनेका छन् । एस जयशंकरलाई नेपालमा नाकाबन्दी लगाउने प्रमुख योजनाकारका रुपमा हेरिन्छ ।

यति मात्रै होइन मोदीले भारतको गुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विंग्स (रअ)को केन्द्रमा प्रमुख व्यक्तिलाई नयाँ नियुक्ति गरेका छन् ।

‘रअ’का प्रमुख अनिल धमासानले अनिवार्य अवकास पाएपछि उनको ठाउँमा सामन्त गोयललाई मोदीले नियुक्ति गरेका हुन् । सामन्त गोयल उनै व्यक्ति हुन्, जसले पाकिस्तानको बालकोटमा एयर स्ट्राइक गराउन ठूलो भूमिका र योजना बनाएका थिए ।

सामन्त गोयल र मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित दोभालबीच परामर्श भएर बालकोटमा स्ट्राइक भएको थियो । ‘रअ’का अहिलेका नयाँ प्रमुख मोदीका विश्वासपात्र मानिन्छन् । अजित दोभालसँग पनि अहिलेका ‘रअ’का नयाँ प्रमुखको राम्रो सम्बन्ध छ ।

आपीएस अफिसर समन्त गायल भारतकाे पन्जाव राज्यबाट प्रतिनिधित्व गर्छन् ।

दक्षिण एसियामा ‘रअ’ले आफ्नो योजनालाई केही सुधार गरेर लैजाने तयारीका साथ सामन्त गोयललाई प्रमुख बनाइएको हो । विशेष गरेर पाकिस्तान, चीन, नेपाल र बंगलादेशलाई ‘रअ’ले विशेष महत्व दिँदै आएको छ ।

श्रीलंका, अफगानिस्तान र भुटानमा पनि ‘रअ’ले आफ्नो प्रभाव राख्दै आएको छ । नेपालमा अहिले ‘रअ’को प्रमुखमा अभिजित हल्दर छन् ।

हल्दरले लैनचौरस्थित भारतीय राजदूतावासभित्रैबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । भारतलाई आवश्यक पर्ने सूचनाहरू उनले आफ्ना सम्पर्क सूत्र र कर्मचारीहरूमार्फत लिने गरेका छन् ।

नेपालमा ‘रअ’ले आफ्ना गतिविधिलाई पहिला जस्तो देखिने गरेर गर्दैन । साइलेन्ट रुपमा गतिविधि गर्दै आएको उच्च स्रोतको भनाइ छ ।

विशेष गरेर ‘रअ’ले नेपालको आन्तरिक राजनीति, चीनसँगको सम्बन्ध, पाकिस्तानका गतिविधि, भारतीय नक्कली नोट, नेपाल–भारत बोर्डरमा हुने आपराधिक गतिविधि आदि विषयलाई सुक्ष्म रुपमा नियाल्दै आइरहेको छ । नेपालको राजनीतिलाई ‘रअ’ले विशेष महत्व दिने गरेको छ ।

नेपालमा चीनको गतिविधि बढिरहेका बेला भारतले पहिला जस्तो नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरको छैन । देखिने गरेर नेपाली राजनीतिमा हस्तक्षेप नगरेपनि भारत चुपचाप लागेर भने बसेको छैन ।

Published : Saturday, 2019 July 6, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया