ओलीलाई बाबुरामले पहिलो पटक फ्लप खुवाए, प्रशंसा गर्न कांग्रेसीहरूपनि बाध्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच शुक्रबार दिनभरि आरोप प्रत्यारोपमा चलेको छ ।

पार्टी मुख्याल धुम्रबाराही, काठमाडौंमा शुक्रबार पार्टी प्रवेश कार्यक्रममा ओलीले नाम नलिएर डा.बाबुराम भट्टराईको आलोचना गरेका थिए । ओलीको आलोचनालाई डा.भट्टराईले पनि उस्तै शैलीमा जवाफ दिएका छन् ।

उखान टुक्का सुनाउन खप्पिस ओलीले शुक्रबारको कार्यक्रममा पनि नेपाली कांग्रेसलाई पनि मास्कको कुरा गरेर आलोचना गरेका थिए । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पनि शुक्रबार दिनभरि ओलीको मास्को कुरालाई लिएर आलोचना गरेका छन् ।

तर, डा.भट्टराईको शैलीमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूले ओलीलाई जवाफ दिएका छैनन् । डा.भट्टराईले ओलीलाई पहिलो पटक फ्लप हुने गरेर ‘बाहुन’को कथा सुनाएका छन् । बाहुनको कथाका कारण डा.भट्टराईले कांग्रेस कार्यकर्ताहरूको समेत प्रशंसा पाएका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले भ्यागुताको कथा सुनाउँदै समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रनामन्त्री डा.भट्टराईलाई व्यङ्ग गरेका हुन् ।

नेपाल समाजवादी पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै ओलीले डा.भट्टराईमाथि व्यङ्ग गरेका थिए । डा.भट्टराईलाई ओलीले भ्यागुता फुलेर फुटेको कथा सुनाउँदै डा.भट्टराईको पार्टी ठूलो नभई फुटेको टिप्पणी गरे ।

ओलीले दुईतिहाई अटेको नेकपामा डा.भट्टराईको सिङ्गो पार्टी अट्ने बताएका छन् ।

डा.भट्टराईसँगै नयाँ शक्तिमा रहेका नेपाल समाजवादी पार्टीका कल्पना धमला, देवेन्द्र पराजुली, गुणाखर भुसाल, मुनु हुमागाइँ नेकपामा प्रवेश गरेका छन् ।

उता, पूर्वप्रधानमन्त्री डा.भट्टराईले पनि ओलीकै शैलीमा मुखभरिको जवाफ दिएका छन् ।

‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रधानमन्त्रीले श्रोताहरूलाई हँसाउनुभएछ । त्योसंगै ‘निदुली’ नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि ?’

डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेका छन्, ‘कथा यस्तो छ – ‘निदुली’ बाहुन साँझमा ससुराली पुगे छन् । सासुभित्र सेलरोटी पकाउँदै रहिछन् । ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थाले छन् ।’

डा.भट्टराईले अगाडि लेखेका छन्, ‘पकाइसकेपछि सासुले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् । ज्वाइँले भनेछन् – ‘रोटी पाके दुई बीस चार, ज्वाइँका भागमा किन चार ?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभरि सासुले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन् ।’

‘गाउँमा धोबीको गधा हराएको रहेछ । धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्’, पूर्वप्रधानमन्त्री डा.भट्टराईले भनेका छन्, ‘अब पर्‍यो फसाद । भोलिपल्ट बिहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबै सुतेपछि ज्वाइँले टाप कसे छन् ।’

‘भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन् । के खोज्छस् दृष्टिबिहीन, आँखा । ज्वाइँ ससुराली घर फर्केर सुतेछन् । भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्’, डा.भट्टराईले भनेका छन्, ‘अब के चाहियो ? निदुलीको ख्याति राजदरबारसम्म पुगेछ । राजाले दरबारमा बोलाए छन् । हराएका हीरा जवाहरत पत्ता लगाउन भनेछन् । बस्न कोठा दिए छन् ।’

डा.भट्टराईले ओलीलाई कथा सुनाउँदै फेसबुकमा लेखेका छन्, ‘अब प¥यो महाफसाद । भागौं, पहरा छ । कोठामै बर्बराए छन् । रोटी गनीगनी जैसी कहाएँ सधोबीको गधा उखुवारी पाएँस अब आयो निदुली तेरै काल ।’

‘पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ । उसको नाउँ पनि निदुली रहेछ । उसले रूँदै आएर भनिछ– ‘बाजे मेरो ज्यान बचाइदिनोस’, डा.भट्टराईले भनेका छन्, ‘हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकी छु । निदुली राजज्योतिषी बनेर धनधान्य भए छन् । अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषीको हो ।’

Published : Friday, 2019 July 5, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया