बाबुराम र दीपक मनाङ्गे उस्तै हुन्ः रामहरि खतिवडा

काठमाडौं । गुण्डा नाइके दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भव्य कार्यक्रमसहित भित्र्याएपछि अनेक खालका टिकाटिप्पणी भइरहेका छन् ।

नेकपाकै केही नेताहरूले मनाङ्गेलाई पार्टीमा भित्र्यान नहुने टिप्पणी गरेका छन् । मनाङ्गे नेकपामा प्रवेश गरेपछि पार्टीका इमान्दार र आपराधिक पृष्ठभूमि नभएका नेताहरूको अपमान भएको जनाएका छन् । उनीहरूले नेकपाभित्र आपराधिक पृष्ठभूमि भएका गुण्डा र डनहरूको अलग संगठन बनाउनपर्ने भनेर समेत सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद रामहरि खतिवडाले दीपक मनाङ्गे र डा.बाबुराम भट्टराईलाई पार्टी परिवर्तनको मामिलामा एउट ठाउँमा राखेर तुलना गरेका छन् । खतिवडाले मनाङ्गेसँग डा.भट्टराईलाई आपराधिक पृष्ठभूमिलाई लिएर तुलाना गरेका छैन । तर, उनले दुबै जना पार्टी फेर्नेमा उस्तै भएको बताएका छन् ।

‘बाबुरामले दीपक मनाङ्गे हुँदा हुँदै हामी किन कम्युनिस्ट पार्टीमा ? भनेका रहेछ्न’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘तर पार्टी परिवर्तन गर्ने चाहिँ दुबै जना हात्ती र हात्ती छाप चप्पल जस्तै हुन् ।’

काठमाडौंको ठमेल क्षेत्रमा अहिले पनि आफ्नो दब्दबा बनाइ राखेका दीपक मनाङ्गे मनाङ जिल्लाबाट प्रदेश निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।

एमालेमा प्रवेश गरेर टिकट पाएका दीपक मनाङ्गेको विरोध भएपछि उनको टिकट खोसिएको थियो । तर, एमालेकै समर्थनमा दीपक मनाङ्गेले प्रदेश सांसदमा स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

विगतमा नेपाली कांग्रेसमा रहेका दीपक मनाङ्गे राप्रपा, एमाले हुँदै नेकपामा प्रवेश गरेका छन् । स्रोतका अनुसार आफ्ना आपराधिक क्रियाकलापबाट जोगिन सत्तारुढ नेकपामा प्रवेश गरेको चर्चा छ ।

दुई दिन अगाडि पोखरामा भएको विशेष कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गुण्डा नाइके दीपक मनाङ्गेलाई पार्टीको विधान दिएर भित्र्याएका थिए ।

व्यक्ति हत्या र गुण्डागर्दीका घटनामा दीपक मनाङ्गेले पटक पटक जेलका हावा खाइसकेका छन् । प्रहरीको हिरासत दीपक मनाङ्गेका लागि पानीपधेँरो जस्तै छ ।

Published : Friday, 2019 July 5, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया