कांग्रेसले घोराहीमा कम्युनिस्टहरूलाई सचेत गरायो, शुरू भयो भण्डाफाेर अभियान

घोराही । नेपाली कांग्रेसले दाङको घोराही उपमहानगरपालिकामा सडक कालोपत्र गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएर दवाव दिएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ ले शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख प्रशाकीय अधिकृत र घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेलाई अलग–अलग भेटेर ज्ञापन पत्र बुझाएको हो ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीले वडाहरूमा उपमहानगरपालिकाले शुरू गरेको असारे विकास र कालोपत्रे गर्ने काममा कमसल खालको कार्य भएपछि बाध्य भएर दवाव दिन ज्ञापन पत्र बुझाएको जानकारी दिए ।

वडाहरूमा सञ्चालित सबै कामहरूमा व्यापक भ्रष्टाचार र अनियमितता भएको क्षेत्रीय सभापति डाँगीले बताए । ‘चरम आर्थिक अनियमितता भएको छ ।

उपमहानगरपालिकाभित्रका अधिकांश विकासका कार्यक्रमहरू गुणस्तरहीन छन्’, उनले भने, ‘अब नेपाली कांग्रेस चुप लागेर बस्दैन । सबै योजना र कार्यक्रमहरूको खबरदारी गर्नेदेखि अनुगमनका कार्यहरू नियमित रुपमा गर्छौं ।’

यसअघि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकाले कालोपत्र गर्ने क्रममा गरेको अनियमितताको विरुद्ध सडक प्रदर्शन गरिसकेको छ ।

नेपाली कांग्रेसले भ्रष्टाचार विरोधी अभियान चलाइरहेका बेला घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग चीन भ्रमणमा गएका छन् ।

घोराही उपमहानगरपालिकामा पूर्वएमाले निकटकाले मेयर र उपमेयरमा विजयी हासिल गरेका छन् ।

Published : Friday, 2019 July 5, 2:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया