कुस्ती संघमा कम्युनिस्टहरूद्वारा कांग्रेसमाथि ‘कु’, संसदमा हँगामा हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना र सदस्य सचिव केशवकुमार विष्टले नेपाल कुश्ति संघमा ‘कु’ गरेका छन् ।

तिमिल्सिना र विष्ट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका हुन् । उनीहरू दुबै एमाले पृष्ठभूमिका हुन् ।

कम्युनिस्ट सरकार निकटको दुईतिहाइको कम्युनिस्ट सरकारको आडमा तिमिल्सिना र विष्टले कुस्ती संघमा ‘कु’ गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका राजमोहम्मद अन्सारीलाई अध्यक्ष बनाएका हुन् ।

तिमिल्सिना र विष्टको यो कर्तुतले प्रमुख विपाक्षी दल नेपाली कांग्रेस र खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारबीच सुध्रिदै गरेको सम्बन्धमा दरार ल्याइदिएको छ ।

केही दिन अगाडि ओलीले सार्वजनिक कार्यक्रममा आफू नेतृत्वको सरकार प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएका थिए । ओलीको सो अभिव्यक्तिलाई धक्का पुग्ने गरेर कुस्ती संघका ‘कु’ भएपछि ओली निकटका नेताहरू समेत रिसाएका छन् ।

नेपाली कांग्रेस निकटका संघका अध्यक्ष नारायणदेव राणालाई ऐन र कानून विपरित अपदस्थ गरेर अन्सारीलाई अध्यक्ष बनाएपछि खेलाडीहरू समेत रुष्ट बनेका छन् ।

अध्यक्ष राणाले बिहीबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षले पत्रकार सम्मेलन गरी कुस्ती संघको पुनर्गठन गरेको भन्ने मिति ०२७६–०३–१७ गतेको विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति मेरो र नेपाल कुस्ती संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘अनधिकृत रुपमा अस्तित्वमा रहेको भनि प्रचारबाजी गर्दै राजमोहम्मद अन्सारीलाई तथाकथित पुनर्गठन गरिएको भनिएको कुस्ती संघको अध्यक्ष बनाउनु कानूनी राज्य र लोकतान्त्रिक प्रक्रियाको बर्खिलाप भएको हाम्रो ठहर छ’, अध्यक्ष राणाले भनेका छन्, ‘जब कि मिति ०७२–०२–२५ गते विधिवत रुपमा साधारण सभा मार्फत् निर्वाचन सम्पन्न गरी पुनः साधारण सभाको लागि स्वीकृति माग गर्दागर्दै आनाकानी र सम्पर्कमा आउन समेत नचाहने सदस्य सचिव केशवकुमार विष्टले आफ्नो कार्यकालको अन्तिम दिन संघको पुनर्गठनको पत्र हस्ताक्षर गरी विवादलाई समाधानतर्फ नभई अझ विवादमा मुछ्न चाहेको प्रष्ट रुपमा थाहा हुन्छ ।’

कुस्ती संघका अध्यक्ष राणाले भनेका छन्, ‘मसँग लिखित सहमति गरेको भनि मिडियामा प्रचारबाजी गरेकोप्रति मेरो घोर आपत्ति छ । किन कि लिखित सहमतिमा मैले हस्ताक्षर नगरेको र त्य प्रकारको सहमति भएको रहेछ भने सार्वजनिक गर्न म राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनालाई आग्रहका साथ भद्र चुनौती दिन चाहन्छु ।’

‘लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित संघलाई उपेक्षा गरी अगाडि बढ्दा खेलकुदलाई कुन दिशातर्फ डो¥याउन खोजेको हो, यसको जवाफ म लगायत सम्पूर्ण खेलप्रेमी र राज्यलाई दिनका लागि म उपाध्यक्ष र निवर्तमान सदस्य सचिव दुबैमा प्रश्न गर्दै तुरुन्त दिनका लागि अनुरोध गर्न चाहन्छु ।’

कुस्ती संघका अध्यक्ष राणाले उपाध्यक्ष तिमिल्सिनालाई कम्युनिस्टहरूको दुईतिहाइको दम्भ रहेको बताएका छन् । ‘पितम्बर तिमिल्सिनाले मसँग पुरानो रिस फेर्नुभएको छ । म कर्मचारी संघको कर्मचारीको अध्यक्ष हुँदा हाम्रो अगुवाइमा रंगशालाको ग्राउन्डमा कन्सर्ट भएको थियो । उहाँ त्यति खेर पनि खेलकुद परिषदको उपाध्यक्ष हुनुहुन्थ्यो’, उनले भनेका छन्, ‘उहाँले हामीसँग पैसाको डिमाण्ड गर्नुभएको थियो । हामीले पैसा दिएका थिएनौँ । त्यसको रिस कुस्ती संघमा ‘कु’ गरेर फेर्नुभएको छ ।’

कुस्ती संघका अध्यक्ष राणाले आफ्नो संघमाथि भएको ‘कु’विरुद्ध न्यायका लागि अदालत जाने चेतावनी दिएका छन् ।

कुस्ती संघको विवादका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत चासो देखाएका थिए । देउवाले तीन हप्ता अगाडि मात्रै नेकपाका महासचिव विष्णु पौडेललाई फोन गरेर कुस्ती संघमा देखिएको विवाद मिलाउन आग्रह गरेका थिए । महासचिव पौडेलले देउवाको आग्रहलाई सकारात्मक रुपमा लिएका थिए ।

तर, नेकपाका महासचिव पौडेल र सभापति देउवाबीच भएको सहमति कार्यान्वयन नहुँदै सदस्य सचिव विष्ट र उपाध्यक्ष तिमिल्सिनाले कुस्ती संघमा ‘कु’ गरेर प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई चिढ्याउने कार्य गरेका छन् ।

कुस्ती संघमा भएको ‘कु’का विरुद्ध नेपाली कांग्रेसले संसदमा समेत कुरा उठाउने भएको छ । आवश्यक प¥यो भने सदन र सडक दुबैबाट आन्दोलन गर्नेसम्मको तयारी भएको अध्यक्ष राणाले बताए ।

Published : Wednesday, 2019 July 3, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया