करातेलाई मानव तस्करको अखडा बनाइयोः मीनकृष्ण महर्जन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता समेत रहेका राष्ट्रिय खेलकुद परिषदको पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले कराते खेललाई मानव तस्करीको माध्यम बनाएको भन्दै चिन्ता जनाएका छन् ।

काठमाडौंको बालाजुस्थित मनमैजुमा शनिबार आयोजित चौथो आपेन कराँते एण्ड किक बक्सिङ च्याम्पियनसिप २०७५ को समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कोषाध्यक्ष महर्जनले कराते खेलको नामलाई भजाएर कथित खेलाडी र प्रशिक्षकहरूले मानव तस्करीको धन्दाका रुपमा आफ्नो व्यवसाय चलाइ रहेको बताए ।

‘कराते खेललाई केही व्यक्तिहरूले आफ्नो धन्दा बनाएका छन् । युरोप, अमेरिका, जापान, अष्ट्रेलियामा मानव तस्करीका रुपमा कराते खेललाई दुरुपयोग गरिएको छ’, परिषदका पूर्व कोषाध्यक्ष महर्जनले भने, ‘कराते खेललाई निस्पक्ष, स्वच्छ र बास्तविक खेलाडीको खेल बनाउनुपर्छ ।’

उनले सत्तारुढ दलका केही नेता तथा मावन तस्करहरूले कराते खेलको बदनाम गरेको बताए । महर्जनले क–कसले कराते खेललाई मानव स्तरको अखडा बनाए सो विषयमा केही बताएनन् ।

कराते महासंघको निर्वाचन र अधिवेशनका विषयमा सरोकारवाला निकायले चासो नदिएकोमा महर्जनले चिन्ता जनाए । ‘साफ गेम हुँदै छ’, उनले भने, ‘करातेले नै देशको नाम राख्छ । तर, गतिलो तयारी नहुँदा करातेमा पनि नेपालले राम्रो उपलब्धि गर्न सक्दैन कि भन्ने ठूलो डर भएको छ ।’

कराते खेलमा राम्रो भविष्य देखेर स–साना भाई–बहिनीहरू आउने गरेको भन्दै महर्जनले उनीहरूको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैको पनि नरहेको बताए ।

कराते महासंघको अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महर्जनले आफूलाई बलियो उम्मेदवारका रुपमा दाबी गर्दै आएका छन् ।

Published : Sunday, 2019 June 23, 12:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया