कुस्ती संघमा कम्युनिस्टहरूको दादागिरि, देउवाले घुमाए फोन

काठमाडौं । कम्युनिस्ट सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)का कारण नेपाल कुस्ती संघको अधिवेशन विथोलिने चरणमा पुगेको छ ।

संघले असार ७ गतेका लागि अधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संघका अध्यक्ष नारायणदेव राणाले राष्ट्रिय खेलकुद परिषदलाई असार ७ गते अधिवेशन गर्न लागेको जानकारी गराएका थिए । परिषदबाट मान्यता प्राप्त राणा नेतृत्वको कुस्ती संघले विधानअनुसार काम गर्छुभन्दा खेलकुदमन्त्री सुनारबाटै अबरोध भएपछि खैलाबैला उत्पन्न भएको छ ।

परिषदका सदस्य सचिव केशव विष्टले संघका अध्यक्ष राणाको आग्रहलाई स्वीकार गरी अधिवेशनका लागि टिप्पणी उठाएका थिए । तर, खेलकुदमन्त्री सुनारले टिप्पणी उठाइएको फाइललाई सदर गर्न अस्वीकार गरेको अध्यक्ष राणाले जानकारी दिएका छन् ।

असार ७ गते संघको अधिवेशन गर्नका लागि सदस्य सचिव विष्टद्वारा टिप्पणी उठाइएको फाइललाई रोकेको विषयमा अध्यक्ष राणाले मन्त्री सुनारसँग दुई पटक भेटेर सदर गर्न आग्रह पनि गरेका थिए । मन्त्री सुनारले अध्यक्ष राणाको कुराको कुनै पनि सुनुवाइ गरेका छैनन् ।

स्रोतका अनुसार खेलकुदमन्त्री सुनारले सत्तारुढ नेकपाका सांसद एवम् ओलम्पिक कमिटीका पूर्व अध्यक्ष जीवनराम श्रेष्ठको दवावमा राणा नेतृत्वको नेपाल कुस्ती संघको निर्वाचन रोकिएको हो ।

तत्कालीन समयमा आफू अनुकूलको कुस्ती संघमा नेतृत्व नआएपछि कुस्ती संघको निर्वाचन भएको लामो समयपछि कोठाभित्रबाट तत्कालीन अध्यक्ष श्रेष्ठले राजमोहन अन्सारीको नेतृत्वमा अर्को समानान्तर समिति बनाएका थिए । आफूले बनाएको अन्सारीको कुस्ती संघलाई मान्यता दिन र भागबण्डाका लागि श्रेष्ठको दवावमा खेलकुदमन्त्री सुनारले असार ७ गतेको अधिवेशन रोक्न खोजेको उच्च स्रोतले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदको तत्कालीन सदस्य सचिव युवराज लामाको पालामा कुस्ती संघमा राणा निर्वाचनबाट अध्यक्ष बनेका थिए । नेपाली कांग्रेस निकटका राणा अनुकूलको नेतृत्व आएपछि एमाले पृष्ठभूमि भएका ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष श्रेष्ठले एमाले निकटका अन्सारीलाई समानान्तर कुस्ती संघ गठन गरी अध्यक्ष बनाएका थिए ।

पूर्वएमालेहरूका कारण नेपाल कुस्ती संघभित्र चरम राजनीति भएपछि अध्यक्ष राणाले ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य र राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनलाई साथमा लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी सो विषयमा जानकारी गराएका छन् ।

बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान अध्यक्ष राणासहितका कांग्रेस नेताहरूले सभापति देउवालाई कुस्ती संघमा राजनीति गरेर असार ७ गतेको अधिवेशन रोक्ने चलखेल गरेको जानकारी गराएको राणाले बताए ।

कुस्ती संघको अधिवेशनका विषयमा नेपाली कांग्रेसका सभापति देउवाले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई फोन गरी विवाद मिलाउनका लागि आग्रह गरेको अध्यक्ष राणाले बताए । देउवाको आग्रहपछि महासचिव पौडेलले कुस्ती संघको विवाद मिलाउन र असार ७ गते नै निर्वाचन गर्न खेलकुदमन्त्री सुनारलाई आग्रह गर्ने आश्वासन दिएको परिषदका पूर्व कोषाध्यष महर्जनले बताए ।

खेलकुदमन्त्री सुनार र नेकपाका सांसद एवम् ओलम्पिक कमिटीका पूर्व अध्यक्ष श्रेष्ठले राणालाई कुस्ती संघबाट ‘कु’ गरेर निकालेर आफू अनुकूलको नेतृतव ल्याउन खोजेपछि कुस्ती खेलको हकहित चाहने खेलाडीहरू आन्दोलित हुन पुगका छन् ।

Published : Monday, 2019 June 17, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया