पौडेल समूहद्वारा नेविसंघको समानान्तर समिति बनाउने धम्की

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका विद्यार्थी नेता र कांग्रेसका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेर नेपाल विद्यार्थी संघ (नेविसंघ) र पार्टीभित्र देखिएको बेथितीका बारेमा गम्भीर बन्न सुझाव दिएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित खबरदारी कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीभित्र यथास्थितिवादी र परिवर्तनशील गरी दुई धार रहेको बताए । उनले सभापति शेरबहादुर देउवा यथास्थितिवादी धारको नेतृत्व गरेको पौडेल समूहका नेताहरूले आरोप लगाए ।

सभापति देउवाका कारण कांग्रेसभित्र नयाँ जागरण पैदा हुन नसकेको नेताहरूले बताएका छन् ।

कांग्रेसका नेताहरूले नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको तथा भ्रातृ संगठनहरूलाई लथालिङ्ग बनाएका कारण अधिनायकवादी कम्युनिष्टहरूको हर्कत पर्दाफास गर्न नसकिएको धारणा राखेका छन् ।

मुलुक भ्रष्टाचारमा डुब्न लागेको र सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गरी जनतालाई सुशासन दिनबाट चुकेको आरोप लगाउँदै कांग्रेसका नेताहरू नेविसंघलाई मिलेर भ्रष्टाचार विरोधी आन्दोलनमा होमिन निर्देशन दिएका छन् ।

पार्टीभित्र परिवर्तन चाहने शक्तिहरू एक हुन पनि कांग्रेसका नेताहरूले अपील गरेका छन् । उनीहरूले नेपाली कांग्रेसको १४औँ महाधिवेशन समयभित्र गराउन सबैले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेविसंघलाई गतिशील बनाउन पनि माग गरिएको छ ।

नेविसंघ शक्ति सन्तुलनका हिसाबले नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पाउनुपर्ने माग गरिएको छ । पार्टीको १४औँ महाधिवेशन यथाशीघ्र शुरू गर्न पार्टी नेतृत्वसँग नेताहरूले माग गरेका छन् ।

अन्तरक्रियाका वक्ताहरूले नेविसंघको नेतृत्व नेताको घरमा धाएर नभइ विद्यार्थी माझमा काम गरेर गर्नुपर्ने सुझाव दिए । सरकार अधिनायकवादी बाटोमा हिँडेको भन्दै कांग्रेसका नेताहरू नसुध्रिए आगामी निर्वाचनमा श्रोत र शक्तिको बलमा फेरि पनि कम्युनिष्टहरूले देशलाई थप अध्यारोमा धकेल्ने नेताहरूले बताएका छन् ।

नेविसंघ उमेरले होइन विचार र सिद्धान्तले चल्नुपर्ने भन्दै कांग्रेसका नेताहरूले यथाशीघ्र नेविसंघको केन्द्रय समिति गठन गर्न माग गरेका छन् ।

कार्यक्रमका वक्ताहरूले नेविसंघको नेतृत्व रिक्त राखेकोमा पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । तत्काल नेविसंघ केन्द्रीय कार्यसमिति गठन गरेर पौडेल समूहलाई जिम्वेवारी दिनुपर्ने अन्यथा समानान्तर समिति गठन गरी देशभरि संगठन विस्तारमा लाग्ने पौडेल समूहका नेताहरूको चेतावनी छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेविसंघ पूर्वमहामन्त्री प्रतिमा गौतम, तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, नेविसंघका नेता मोतीलाल भण्डारी, संजय चौधरी लगायतले पार्टी नेतृत्वको खुलेरै आलोचना गरेका थिए ।

Published : Tuesday, 2019 June 11, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया