भ्रष्टाचार लुकाउन सरकारले आयोग बनायोः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी जहाज खरिदको घोटाला लुकाउन कम्युनिस्ट सरकारले उच्चस्तरीय आयोग बनाएको आरोप लगाएका छन ।

नेपाल राष्ट्रिय मगर संघले मोरङको लेटाङमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकारले वाइड बडी घोटाला छानविन गर्न बनाएको आयोगमाथि प्रश्न उठाएका हुन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो ।

ओली सरकारले बनाएको आयोगले वाइड बडी जहाजमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको कांग्रेसका सभापति देउवाले बताएका छन ।

‘वाइड बडीमा जुन भ्रष्टाचार भएको छ, छानविन आयोग बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ?’, उनले प्रश्न गर्दै भने, ‘बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।’

कांग्रेसले विपक्षमा भएपनि वाइड वडी प्रकरणमा भ्रष्टाचार गर्नेहरूलाई कुनै हालतमा नछाड्ने सभापति देउवाले चेतावनी दिए । उनले भने, ‘जो सुकै होस, हाम्रो पार्टीले छाड्ने छैन ।’
सभापति देउवाले कम्युनिस्ट सरकारले उद्योगी व्यापारीहरूलाई दुःख दिएको बताए । उनले जनता र व्यापारीलाई करमाथि कर थोपरेको आरोप लगाए ।

‘मैले ओलीको नाम नै करप्रसाद ओली राखेको छु’, सभापति देउवाले भनेका छन । सरकारले कर लगाएर पैसा असुल्ने काम मात्र गरेको भन्दै देउवाले यसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए ।

Published : Saturday, 2019 January 5, 10:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया