यी अन्तर्घातीहरूलाई ललितपुर कांग्रेसले कालोमोसो दल्ने

ललितपुर । तत्कालीन एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई विजय गराउन भूमिका खेलेका कांग्रेसका अन्तर्घाती नेताहरूलाई नेपाली कांग्रेस ललितपुरले कालोमोसो दलेर लखेटन गाउँका कार्यकर्तासँग अपील गरेको छ ।

ती अन्तर्घातीहरूलाई कुनै पनि कार्यक्रममा सहभागी नगराउन निर्देशन दिइएको छ । कम्युनिस्टहरूको उक्साहटमा पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकता दिवस बिथोल्ने कार्य गरेका अन्तर्घातीहरूलाई कार्यकर्ताबाट कारबाही गर्नुभन्दा अर्को बिकल्प नरहेको नेताहरूले निस्कर्ष निकालेका छन ।

ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यको निवासमा शनिबार बसेको अनौपचारिक बैठकमा अन्तर्घाती नेताहरूको चर्तिकलाबाट कांग्रेसलाई ठूलो नोक्सानी भएको निस्कर्ष निकालएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बैठकमा कांग्रेसलाई नोक्सानी पुर्‍याउने अन्तर्घाती नेताहरूलाई कालोमोसो दलेर कारबाही गर्नेसम्मको विषयमा छलफल भएको थियो । अधिकांश नेताहरूले अन्तर्घातीहरूलाई कालोमोसो दलेर ठेगान लगाउनुपर्ने सुझाव दिएका थिए ।

तर, सभापति अमात्यले कालोमोसो दल्नेभन्दा पनि कार्यकर्ताहरूबाट त्यस्ता अन्तर्घाती नेताहरूलाई बहिस्कार गर्नुका साथै कुनै पनि कार्यक्रममा सहभागी नगराउन पार्टी मातहतलाई निर्देशन दिएका छन ।

‘कांग्रेसलाई नोक्सानी गर्ने अन्तर्घातीहरूलाई कालोमोसो दल्नुपर्छ । कांग्रेसले गर्ने कार्यक्रमलाई जहिले पनि कम्युनिस्टहरूको उक्साहटमा लागेर बिथोल्छन’, उच्च स्रोतले भन्यो, ‘कवेलबहादुर लामासहितका अन्तर्घातीहरूलाई कालोमोसो दलेर कारबाही गर्न दवाव परेको छ । सम्भवत कांग्रेसका कार्यकर्ताले अब यस्ता अन्तर्घाती नेताहरूलाई कालोमोसो दल्नेछन । अन्तर्घातीहरूको मनोबल उच्च हुँदै जाँदा कांग्रेसलाई ठूलो नोक्सानी भैरहेको छ ।’

मेलमिलाप दिवस मनाउन ललितपुरमा केन्द्रबाट खटिएका प्रतिनिधि एवं केन्द्रीय सदस्य उमाकान्त चौधरीले अन्तर्घातीहरूलाई पनि आसन ग्रहण गराउन दवाव दिएका थिए ।

कृष्णप्रसाद सिटौला समूहका नेता चौधरीले ललितपुर कांग्रेसभित्र बिग्रह ल्याउन आफूले भूमिका खेलेका थिए । चौधरीको चर्तिकलाबाट ललितपुर कांग्रेसले चित्त दुखाएको छ ।

पुस १६ गतेको मेलमिलाप दिवसको कार्यक्रमबाट ललितपुर कांग्रेसका अन्तर्घाती समूहका नाइके कवेलबहादुर लामासहितकालाई सभापति अमात्यको समूहले घोक्रेठयाक लगाएर बाहिर निकालेको थियो ।

अन्तर्घातीका नाइके कवेलबहादुर लामालाई कार्यक्रममा सहभागी कार्यकर्ताहरूले हातपात समेत गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कवेलबहादुर लामा र उनको समूहले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई हराउन एमालेका नवराज सिलवाल र चेतनाथ सञ्जेललाई सहयोग गरेर लाखौं रुपियाँ कुम्ल्याएका थिए । केवलबहादुर लामाले सूर्यमा भोट हाल्न भनेर कांग्रेसका नेता तथा कार्यकर्तासँग मत मागेको फोन रेकर्डसमेत ललितपुर कांग्रेससंग सुरक्षित छ ।

कांग्रेसमा रहेर कम्युनिस्टहरूको निर्देशमा चर्तिकला गर्दै आएका कवेलबहादुर लामालाई पार्टीबाट निस्काशित गर्न माग गर्दै ललितपुर कांग्रेसले केन्द्रमा सिफारिस समेत गरिसकेको छ ।

अर्का अन्तर्घाती नेताहरू ओमकार श्रेष्ठ, जितेन्द्र मलेखु र रामकृष्ण चित्रकारले पनि कांग्रेसलाई सिध्याउन निर्वाचनका बेला माओवादी नेतृ पम्फा भुसालसँग मोटो रकम कुम्ल्याएको आरोप छ । ललितपुर कांग्रेसका सभापति समेत रहेका अमात्यलाई हराउन श्रेष्ठ, मलेखु र चित्रकारले पम्फा भुसालसँग पटक–पटक गोप्य बैठक गरेका थिए ।

शनिबार बसेको बैठकमा सभापति अमात्यका साथै पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, महासमिति सदस्य मीनकृष्ण महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, जिल्ला सचिव भीमसेन घिमिरे, प्रकाशनन्दन जोशी, कर्म बेञ्जनकार लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2019 January 5, 10:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया