वाइड बडी घोटाला ढाकछोप गर्न सरकारी छानविन समितिः पौडेल

काठमाडौं । वाइड बडी विमान खरिद घोटालाका बारेमा कम्युनिस्ट सरकारले छानविन गर्न अलग आयोग बनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खरो प्रतिक्रिया दिएको छ ।

वाइड बडी विमानमा भ्रष्टाचार र अनियमितताका बारेमा संसदको सार्वजनिक लेखा समितिको उपसमितिले ४ अर्बभन्दा धेरै रकम घोटाला भएको प्रतिवेदन बनाएपछि कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली रिसाएका हुन् । ओलीले बिहीबार साँझ अकस्मात मन्त्रिपरिषद् बैठक राखेर छानविन आयोग बनाएका छन् ।

ओली सरकारले बनाएको आयोगप्रति नेपाली कांग्रेसले आशंका जनाउँदै ठूलो भ्रष्टाचार ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी जहाज खरिदमा भएको अनियमितता ढाकछोप गर्न ओली सरकारले छुट्टै छानबिन समिति गठन गरेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला तनहुँमा शुक्रबार आयोजित कार्यक्रममा नेता पौडेलले राजनीतिमा तीनतिर फर्केका नेता खान पाएपछि एकैतिर फर्कने पनि आरोप लगाए ।

‘सार्वजनिक लेखा समिति अन्तर्गत उपसमितिले वाइड बडी खरिदमा भएको अनियमितताबारे छानबिन गरिरहेकै अवस्थामा सरकारले छुट्टै समिति गठन गर्नु भनेको अनियमितता लुकाउन खोजेको हो’, वरिष्ठ नेता पौडेलले भने, ‘उपसमितिको प्रतिवेदन मान्दिन भनेर ओली सरकारले समितिलाई नै अपमान गरेको छ ।’

नेता पौडेलले वाइड बडी जहाज खरिदमा ठूला नेताहरू संलग्न रहेको हुनसक्ने आरोप लगाए ।

‘राजनीतिमा तीनतिर फर्केका नेताहरू खान पाएपछि एकैतिर फर्कन्छन्’, वरिष्ठ नेता पौडेलले भने, ‘सबै मिलेर ठूला भ्रष्टाचार काण्ड त गरेका होइनन् भन्ने प्रश्न पनि उठेको छ ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले महासमिति बैठकपछि पार्टीमा एकता देखा परेको बताएका छन् ।

१४औं महाधिवेशन समयमै गरेर अर्को चुनावका लागि गाउँदेखि सहरसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउनुपर्ने उनले बताए ।

Published : Friday, 2019 January 4, 3:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया