पूर्वयुवराज पारस नेता बन्ने ! रेष्टुरेन्टमा गोप्य वार्ता

काठमाडौं । पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता शुरु गरेका छन् । पारसले बिहीबार काठमाडौंमा साना पार्टीका युवा नेताहरूसँग छलफल गरेका छन् ।

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका हुन् ।

नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन् । पारसले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे जानकारी लिएका थिए ।

भेटवार्तामा राप्रपा (प्रजातान्त्रिक)का राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सगुनसुन्दर लावती, पंकज प्रधान र श्याम थापा सहभागी थिए ।

एकीकृत राप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, डा सुष्मा आचार्य र डा केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सुचित्रा घिमिरे सहभागी भएको एक नेताले बताए ।

राप्रपाका नेता जयन्त चन्द, भुवन पाठकलाई बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको एक नेताले बताए ।

भेटवार्तामा पारसले राष्ट्रवादी शक्ति बलियो बनाउन आवश्यक रहेको भन्दै एकजुट हुन सबैलाई सुझाब दिएको बुझिएको छ ।

भेटवार्तामा चिया, कफी र जुस पिउँदै कुराकानी भएको थियो । सहभागी नेताहरूले तीन राप्रपा एउटै बन्न सैद्धान्तिक समस्या नरहे पनि नेतृत्व कसले गर्ने भन्ने विषयले समस्या भइरहेको बताएका थिए ।

पारसले आफू कसरी अघि बढ्दा ठीक हुन्छ भन्ने विषयमा समेत युवा नेताहरूसँग सुझाब मागेका थिए । नेताहरूले पारसलाई सामाजिक अभियान चलाउन सुझाब दिएका थिए ।

Published : Friday, 2018 August 31, 8:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया