स्वर्गवास भइसकेका यी पूर्वएमाले नेताका कारण भण्डारी-ओलीलाई तनाव

काठमाडौं । पूर्वएमालेका तत्कालीन महासचिव मदन भण्डारीको ‘दासढुँगा हत्याकाण्ड’का विषयमा सत्यतथ्य पत्ता लगाउन छानविन हुनुपर्ने माग फेरि उठ्न थालेको छ ।

झण्डै दुई तिहाई बहुमत पाएका कम्युनिस्ट प्रधानमन्त्री एवम् मदन भण्डारीका उत्ताराधिकारी खड्गप्रसाद ओली दोस्रो पटक प्रधानमन्त्री बनेका बेला दासढुँगा हत्याकाण्डको फाइल खोल्न पूर्वएमालेका कार्यकर्ताहरूले माग गरेका छन् ।

मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी पनि देशको राष्ट्र प्रमुख भएकी छिन् । दोस्रो पटक राष्ट्रपति बनेकी हुन् । विद्यादेवी भण्डारी र खड्गप्रसाद ओलीले मदन भण्डारीको दासढुँगा हत्याकाण्डको छानविन गर्न किन रुचि देखाएका छैनन् भनेर प्रश्न उठ्न थालेका छन् ।

‘मदन भण्डारी र वीरेन्द्रको हत्याको कडी एउटै हो’ भन्ने पूर्वमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो दललाई एमालेमा मिसाएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो तहका अध्यक्ष बनेका छन् । मदन भण्डारीका थुप्रै चेलाहरू सरकारमा मन्त्री छन् । मदन भण्डारीले बनाएको पार्टीकै दुई तिहाइ सरकार छ । यस्तो अनुकूल अवस्थामा ‘दासढुँगा हत्याकाण्ड’ छानविन नगर्ने कमरेडहरू ? भनेर सामाजिक सञ्जालमा प्रश्न उब्जिएको छ ।

तात्कालीन एमालेले ‘मदनको हत्या गिरिजाले गराएको’ भन्दै सडकका रेलिङ भाँच्यो, टेलिफोन बुथ भत्कायो भन्दै पत्रकार कुशुम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘बहुमतको कांग्रेस सरकारको विरोधमा सडक तताएर आन्दोलन चर्कायो’, भट्टराईले लेखेका छन्, ‘आखिर मदन भण्डारीको शोकलाई शक्तिमा बदल्ने भन्दै होहल्ला गरेर एमालेले शक्ति सञ्चय गरेकै हो । र, सत्तामा पुगेकै हो ।’

पहिला त एमालेको एकलौटी सरकार थिएन । तर, आज दुई तिहाइको सरकार हुँदा पनि किन मदन भण्डारीका हत्यारा पत्ता लगाउने सुरसार हुँदैन ? भनेर पत्रकार भट्टराईले प्रश्न उठाएका छन् ।

‘या त मदन भण्डारीको दुर्घटनामै निधन भएको भनौं । ‘हत्या हो’ भन्ने बिगतको निचोड गलत रहेछ भनेर भनौं’, उनले भनेका छन्, ‘हैन भने हत्याको छानविन अहिले नगरे कहिले गर्ने ?’
‘कि, कार्टुनिस्ट बात्सायनले बनाएको कार्टुन झैं दासढुँगा दुर्घटनालाई भजाएर सत्ताको सुप खाने दाउ मात्र थियो ?’, उनले प्रश्न गरेका छन् ।

‘आखिर मदन भण्डारीको मृत्यु रहस्यमै रहने हो त ? प्रचण्ड र ओली यसबारेमा किन मौन ? के यसको छानविन गर्दा शक्ति केन्द्रहरुको कोपभाजनमा परिन्छ भन्ने भय या चिन्ता हो कि ?’, सामाजिक सञ्जालमा प्रश्न गरिएको छ ।

‘कम्तीमा राष्ट्र प्रमुखले त यसबारेमा सोच्नुपर्ने हो ? आफू पावरमा भएकै बेला आफ्ना पतिका ‘हत्यारा’लाई सजाय दिलाउन उहाँले यथाचित पहल गर्नुपर्ने हैन र ?’, पत्रकार भट्टराईले कम्युनिस्ट सरकारका राष्ट्र प्रमुख विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् ।

Published : Monday, 2018 August 20, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया