देउवा-पौडेल मिलेपछि कुन-कुन नेताको बढ्यो ढुकढुकी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको दुरीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले घटाउँदै लगेका छन् । हेटौँडाबाट आफूहरूलाई एक कदम पछाडि लगेर देउवा र पौडेल निकट हुने प्रयास गरेका हुन् ।

मकवानपुरको हेटौँडामा शुक्रबार सम्पन्न जिल्ला सभापतिहरूको भेलामा वरिष्ठ नेता पौडेलले त्यसको संकेत गरेका छन् । जिल्ला सभापतिहरूको भेलाको बन्दसत्रमा सभापति देउवासँग लगातार सँगै बसेका पौडेलले सबैको सुझाव सुनेका थिए ।

त्यसपछि आफूले सम्बोधन गर्ने क्रममा कांग्रेसलाई बलियो बनाउनुपर्ने धारणा राखे । त्यति मात्रै होइन नेता पौडेलले आफ्नो कुनै गुट नगरहेको पनि बताए । साथै उनले आगामी दिनमा गुटलाई संरक्षण नगर्ने संकेत गरेका छन् ।

पौडेलको यो भनाइबाट केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीको मनमा चिसो पसेको छ । वरिष्ठ नेता पौडेललाई अगाडि देखाएर आफ्नो उदेश्य पूरा गर्दै आएका यी तीन भाईलाई आगामी दिनमा गुट संरक्षण गर्न समस्या पर्ने भएको छ ।
पौडेलको अभिव्यक्तिले चन्द्र भण्डारी, धनराज गुरुङसहितका केही नेताहरूलाई पनि पनि आत्तिएका छन् ।

वरिष्ठ नेता पौडेललाई सिटौला, सिंह र केसीले आफू अनुकूल प्रयोग गर्दै आएपछि महामन्त्री डा.शशांक कोइराला बिच्किएका छन् । कांग्रेसका एकजना नेताले भने, ‘पहिला रामचन्द्र पौडेललाई हराउन लाग्ने । अहिले आफ्नो स्वार्थपूर्तिगर्न आउने ? यस्ता नेतालाई महामन्त्री डा.शशांक कोइरालाले राम्रोसँग चिन्नुभएको छ ।’

वरिष्ठ नेता पौडेलले आफू पार्टी बलियो बनाउन निस्वार्थ रुपमा लाग्ने जिल्ला सभापतिहरू समक्ष बाचा गरेका छन् । ‘मेरो कुनै गुट छैन’, पौडेलले जिल्ला सभापतिहरूको भेलालाई सम्बोधन गरेको भनाइ उदृत गर्दै एक नेताले भने, ‘पार्टी बलियो बनाउन म निस्वार्थ रुपमा लाग्छु ।’

नेता पौडेलले त्यसका लागि सभापति देउवाले पनि सबैलाई कांग्रेसको मान्छे भन्ने वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।

Published : Saturday, 2018 June 23, 10:59 am

1 प्रतिकृया प्राप्त “देउवा-पौडेल मिलेपछि कुन-कुन नेताको बढ्यो ढुकढुकी ?”

  • नेताहरुमा पार्टी को चिन्ता छ भने ब्यक्तिगत गुटबन्दी छाडि एकताबद्ध भएर अघि बढ्ने सदबुद्धी चाडो आवस ।जय नेपाल ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया