पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्मचार्यलाई विशेष सम्मान

ललितपुर । नेपाल कराते संघ ललितपुर र आठौँ साफ गेमको करातेका गोल्डमेडलिस्ट मीनकृष्ण महर्जनको विशेष पहलमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजपाल कर्माचार्यलाई सम्मान गरिएको छ ।

ललितपुरको लगनखेलमा शनिबार आयोजित विशेष कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय कराते खेलाडी कर्मचार्यलाई सम्मान गरिएको हो । नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष दावा गुरुङले पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्मचार्यलाई सम्मान गरेका हुन् ।

कर्मचार्यले विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा नेपालका लागि थुप्रै गोल्ड मेडलहरू जितिसकेका छन् । उनीद्वारा प्रशिक्षण दिएका खेलाडीले पनि गोल्ड मेडल जितेर नेपालको नाम अन्तर्राष्ट्रियजगतमा चिनाइ सकेका छन् ।

आठौँ साफ गेमका गोल्डमेडलिस्ट एवम् नेपाली कांग्रेस ललितपुरका महासमिति सदस्य महर्जनले कर्मचार्यका कारण आफूले करोतमा गोल्डमेडल जितेको बताए ।

‘उहाँको योगदान थिएन भने मैले आठौँ साफ गेममा करातेमा गोल्डमेडल जित्न सक्ने थिएन’, उनले भने, ‘हामीले खेल र खेलाडीप्रति माया गर्ने गुरुहरूप्रति सम्मान गर्न भुल्नु हुँदैन ।’

कार्यक्रममा कर्मचार्यसहित दुई दर्जन करातेका प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । कर्मचार्य हाल जापानमा बसोबास गर्दै आएका छन् ।

यसैबीच, नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष गुरुङले कराते खेलका नाममा केही व्यक्तिले मान्छे बच्ने काम गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

अध्यक्ष गुरुङले भिजिलान्तेहरूले करातेका नाममा मान्छे बेच्ने काम गरिरहेको आरोप लगाएका हुन् । ‘करातेका नाममा विशदेमा मान्छे बेच्नेहरू सक्रिय भएका छन्’, उनले भने, ‘त्यस्ता भिजिलान्तेहरूलाई तपाई–हामी सबै मिलेर निस्तेज पार्नुपर्छ ।’

व्यक्तिगत स्वार्थमा लाग्ने भिजिलान्तेहरूलाई निस्तेज पारेर कराते खेलको संरक्षण गर्नुपर्ने उनले बताए । कराते खेलका बहानामा केही अवसरवादीहरूले खेलाडीहरूको बद्नामी गरिहेको अध्यक्ष गुरुङले बताए ।

अध्यक्ष गुरुङले भिजिलान्तेहरूले विदेशमा लगेर मान्छे बेच्ने गरेको आरोप लगाएपनि ती को–को हुन् केही बताएनन् । यद्यपि, समय आयो भने त्यस्ता भिजिलान्तेहरूलाई नाङ्गे झार बनाउने चेतावनी दिए ।

कराते खेलमा सबैभन्दा धेरै खेलाडीहरू देशभरि आवद्ध रहेको अध्यक्ष गुरुङले बताए । ‘कराते खेलमा देशभरिका सबैभन्दा धेरै खेलाडी आवद्ध छन्’, उनले भने, ‘कराते खेलको संरक्षणमा सरकारले पनि विशेष ध्यान दिनुपर्छ ।’

Published : Saturday, 2018 April 28, 5:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया