कांग्रेस बलियो बनाउने यी हुन् दीपक गिरीका खास सुत्र

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आलोचना भयो भन्दैमा नतर्सिन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । उनले पार्टीभित्र नेताहरूले दिने आलोचनात्मक सुझावबाट नै सभापति बलियो हुने बताए ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा धारणा राख्दै नेता गिरीले सभापति भयो भन्दैमा आत्ति हाल्नुपर्ने अवस्था नरहेको बताए । आलोचनाका साथै निर्वाचनको समीक्षाका बेला आएका सुझावालाई आत्मसात गरेर उर्जाका रुपमा लिएर सभापति देउवाले नयाँ रणनीति बनाउनुर्ने बताए ।

‘कांग्रेसको यो बैठक सकिएर नेताहरू बाहिर निस्किँदा नयाँ कार्यक्रम, योजना र उत्साहका साथ एकढिक्का भएर निस्कनु पर्छ’, उनले भने, ‘हाम्रो पराजयलाई अवसरका रुपमा लिन सक्नुपर्छ ।’

कांग्रेसले मुलुकमा नयाँ संविधान ल्याएर लोकतान्त्रिक व्यवस्था स्थापना गरेको समेत उनले बताए । ‘कांग्रेसको नेतृत्वमा स्थापना गरेको लोकतान्त्रिक प्रणाली अझै संस्थागत भएको छैन’, उनले भने, ‘संविधान सभा निर्वाचन, संविधान निर्माण तथा त्यसपछिका सबै निर्वाचन गरेका हौँ ।’ कांग्रेसले नै यो मुलुकको राष्ट्रिय एकतालाई अक्षुण राखेको भन्दै नेता गिरीले कांग्रेसले ल्याएको संविधान रक्षा गर्नुपर्ने दायित्व पनि रहेको उल्लेख गरे ।

एमाले र माओवादीको कम्युनिस्ट गठबन्धनका कारण मात्रै कांग्रेस पराजय भएको आरोप अस्वीकार गरेका नेता गिरीले भने, ‘कम्युनिस्टलाई मात्रै आरोप लगाएर हुँदैन । हाम्रो आन्तरिक कारणले हारेको सत्य हो । चुनवाको तयारी, गतिलो निर्वाचनसम्बन्धी रणनीति नहुनु, टिकट वितरणमा भद्रगोल, सरकारमा रहँदा राम्रो काम नगर्नु आदि कारणहरू कारणको पराजयका विषय हुन् ।’

नेता गिरीले सिङ्गो पार्टी संस्थागत रुपमा चुनावमा लाग्न नसकेको आरोप पनि लगाए । उम्मेदवारहरू व्यक्तिगत रुपमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएको भन्दै उनले कांग्रेसका उम्मेदवारहरूलाई हराउन व्यापक अन्तर्घात भएको बताए । उनले अन्तरघातीहरूलाई कडा कारबाहीको माग पनि गरेका छन् ।

केन्द्रीय सदस्य गिरीले कांग्रेसका भातृसंस्थाहरूले निर्वाचनका बेला राम्रोसँग भूमिका खेल्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । ‘घरमा गरिवी बढेपछि झगडा हुन्छ । कांग्रेसमा राजनीतिक गरिवी भएको छ । त्यही भएर कांग्रेसभित्र झगडा भएको छ । कांग्रेसलाई पूर्णता दिएर फेरि मैदानमा जानुपर्छ’, गिरीले भने, ‘भावी कार्यदिशा, नयाँ कार्यक्रमका साथ जनतामा जानुपर्छ । संगठनहरू चलायमान बनाउनुपर्छ । पार्टी एकढिक्का भएको हेर्न चाहन्छन् । कम्युनिस्टहरूका कारण कांग्रेसलाई अवसर आएको छ ।’

एमाले र माओवादी केन्द्र एकीकरणको अन्तिम चरणमा रहेको बताएका केन्द्रीय सदस्य गिरीले भने, ‘कम्युनिस्टहरूलाई विश्वास गर्ने अवस्था छैन । उनीहरूले जनतालाई झुक्काएका छन् ।’

एमाले–माओवादीले लोकतन्त्रप्रति देखाएको प्रतिवद्धतालाई विश्वास गर्न नसकिने भन्दै उनले कम्युनिस्टहरूको भूमिका अझै पनि शंकास्पद रहेको उल्लेख गरे ।

Published : Tuesday, 2018 April 24, 8:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया