एमाले र ओलीको व्यवहारबाट माओवादी तर्सित, प्रचण्डको ब्रिफिङले नेताहरू चिन्तित

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकीकरण बराबरीकै हैसियतमा हुने भन्दै विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित अर्थात हेडक्वाटर बैठकले एमाले–माओवादीबीच पार्टी एकीकरण हुने र त्यसका लागि अन्तिम चरणका सम्वाद भइरहेका विषयमा छलफल भएको हो । बैठकमा अध्यक्ष दाहालले एमालेले माओवादीलाई बराबरी हैसियत दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका थिए ।

अध्यक्ष दाहालको भनाई उदृत गर्दैै एक नेताले भने, ‘पार्टी एकीकरणका विषयमा हालसम्म भएको वार्ता र सम्वादका बारेमा अध्यक्ष प्रचण्डज्यूले ब्रिफिङ गर्नुभयो । अहिलेसम्म एमाले र केपी ओलीजीको शैली र तौरतरिकाबाट अध्यक्षज्यू खासै उत्साहित हुनुहुन्न ।’ दाहालले एमालेका नेताहरूले माओवादीलाई गलाएर, थकाएर विलय गराउन खोजेको आभास आफूलाई लागेको बताएका थिए ।

बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले समान हैसियतमा एमालेसँग पार्टी एकीकरण गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ । ‘एमालेसँग पार्टी एकीकरण गर्नुपर्छ भन्ने सबैको धारणा थियो’, एकजना नेताले भने, ‘तर एमालेमा माओवादीलाई विलय गराउने कुरा हुँदैन । समान र बराबरी हैसियतमा हामीले पार्टी एकीकरण चाहेका छौँ ।’
केन्द्रीय कार्यालयको विस्तारित बैठकले अध्यक्ष दाहाललाई गम्भीर भई पार्टी एकीकरणको कुरा अगाडि बढाउन पनि आग्रह गरेको छ ।

एमालेले माओवादी केन्द्रसंग पार्टी एकीकरणका विषयमा पछिल्लो पटक गरेको व्यवहारबाट बैठकमा नेताहरूले चित्त दुखाएको स्पष्ट देखिएको ती नेताले बताए ।

Published : Sunday, 2018 April 22, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया