वाम गठबन्धनको गोप्य दस्तावेज कसले दियो ‘रअ’लाई ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि बनेका कार्यदलले तयार पारेका दस्तावेजहरू भारतीय राजदूतावासमा पुगेको छ । भारतीय दूतावास लैनचौरमा दुईवटा दस्तावेजहरू पुगेपछि वाम गठबन्धनभित्र बबण्डर भएको स्रोतले बतायो ।

एमालेका वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको वैचारिक दस्तावेज निर्माण कार्यदल र माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलले पार्टी एकीकरणका लागि दस्तावेज बनाएको थियो ।

ती दुई कार्यदलले अधिकांस विवाद सल्टाएपनि तीनवटा विवाद भने सुल्झाउन सकेको थिएन । तर, यी दुई कार्यदलले बनाएको दस्तावेज भारतीय राजदूतावासमा पुगेकोपछि वाम गठबन्धन भित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउन थालेका छन् ।

पार्टी एकीकरणका लागि बनेका दस्तावेजहरू एमाले र माओवादी केन्द्रका नेताहरूले लुकाएका थिए । तर, भारतीय राजदूतावासका एक कर्मचारीले आफू निकटका केही नेपाली पत्रकारहरूलाई दस्तावेज दिएपछि त्यसको रहस्य बाहिर आएको हो ।

स्रोतले भन्यो,‘एमाले र माओवादीका नेताहरूले पत्रकारले माग्दा पार्टी एकीकरणको दस्तावेज दिएनन् । तर, भारतीय राजदूतावासबाट ती दस्तावेजहरू पत्रकारहरूलाई दिइयो ।’ विवाद भएका विषय बाहिर नजाओस् भनेर एमाले र माओवादीका नेताहरूले ती दस्तावेज लुकाएका थिए ।

दस्तावेज भारतीय दूतावासमा कुन नेताले पुर्‍याएको हो भनेर एमाले र माओवादीभित्र खोजी सुरु भएको छ । वरिष्ठ नेता नेपाल संयोजकत्वको पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट भीमबहादुर रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।

माओवादी केन्द्रका नेता थापा संयोजकत्वको संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट थापाका साथै गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।

कार्यदलमा रहेका यी नेताहरूमध्येबाट दस्तावेजहरू भारतीय राजदूतावास पुगेको भनेर वाम गठबन्धभित्र एकले अर्कालाई आरोप लगाउन थालेका छन् । एमाले–माओवादी केन्द्रले लेनिन जयन्तीको अर्थात कम्युनिस्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गतेलाई एकीकरण हुने भनेर प्रचार गरेका छन् । तर, पार्टी एकीकरण हुन्छ वा हुँदैन केही टुंगो लाग्न सकेको छैन ।

दुई पार्टीबीच एकतापछि चुनाव चिन्ह के राख्ने, केन्द्रदेखि तल्लो तहसम्मका पार्टी कमिटीमा कुन पार्टीका कति पदाधिकारी र सदस्य रहने तथा जनयुद्धलाई हेर्ने दृष्टिकोणका सम्बन्धी विवाद कायम छ ।

यी विषयमा देखिएको विवाद अब एकता संयोजन समितिले मिलाउने जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराबरी हैसियतमा पार्टी एकीकरणको कुरा उठाएपछि एमालेका अध्यक्ष केपी ओली झस्किएका छन् ।

पदीय भागबण्डाको विषय जटिल बन्दै गएको छ । केन्द्रीय समितिमा एमाले एक तिहाईभन्दा बढी स्थान माओवादी केन्द्रलाई दिन तयार छैन । तर, माओवादी केन्द्र पनि ५० प्रतिशतभन्दा तल झर्न तयार छैन । जसले गर्दा पनि पार्टी एकीकरण हुनेमा अशंका पैदा भएको छ ।

Published : Friday, 2018 April 13, 6:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया