गगनको सानो तर्कले यसरी खुस्कियो ओलीको रेल र पानीजहाजको ‘फरिया’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीको महत्वकांक्षी योजना रेलमार्ग र जलमार्गमाथि प्रश्न गर्दै औचित्य पुष्टि गर्न चुनौती दिएका छन् ।

एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीजले बुधबार राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको जलयात्रा वर्तमान र भविष्य विषयक अन्तर्क्रिया कार्यक्रममा थापाले रेलमार्गमाथि प्रश्न गरेका हुन् । नेता थापाले भारत र चीनबीचमा रेलवे बनाउन आवश्यकै नरहेको दाबी गरे ।

उनले भने, ‘हामीले रेलवे बनाउने हामीले पानी जहाज ल्याउने हामीले हवाइ अड्डा बनाउने ? बनाउने भन्दै गर्दा केका लागि बनाउने ? भारत र चीनलाई सामान बेच्छौ भन्छौ । भारत र चीनलाई सामान बेच्न नेपालमा बाटो बनाउनुपर्दैन । यो भ्रममा नहोस ।’

आफू रेलमार्गको विरोधी नभएको उल्लेख गर्दै थापाले भने, ‘म जन्मेकै साल २०३३ मा वीपीले युनिभर्सिटीका विद्यार्थीलाई जम्मा गरी भन्नुभएको थियो, सडक बन्यो भन्दैमा विकास भयो भन्ने होइन । तपाईको गाउँमा सामान लिएर आएका ट्रक फिर्ता जाँदा भरी गयो भनेमात्र विकास हो । नेपालमा आउने रेललाई हामी भरेर पठाउन सक्छौ कि सक्दैनौ ?’

दुई देशबीच अर्बौको व्यापार भइरहेको बेला रेलवे र जलमार्ग काम लाग्ने कुरो नभएको थापाले बताए । ‘हान्ड्रेड बिलियन युएस डलरको टार्गेट राखेर व्यापार चलिरखेको बेला यो काम छैन’, थापाले भने ।

कार्यक्रममा उनले कृषिबाट रोजगारी सिर्जना गर्न सक्नुपर्ने र पर्यटन विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो । यसका लागि र्‍याफ्टिङको पनि एउटा आधार भएको उनले बताए । कांग्रेस नेता थापाले समृद्धिका लागि सोच नै परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

Published : Wednesday, 2018 April 11, 8:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया